केपी ओलीले राष्ट्रिय अपराध गरे: नेता शर्मा



सुर्खेत। नेकपाका स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज जनार्दशन शर्मा ‘प्रभाकर’ले कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूह बलियो रहेको बताएका छन्।

असंवैधानिक रुपमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि विभक्त बनेको नेकपा यतिबेला जनताका बीचमामा आफ्नो अस्तित्व खोजिरहेको छ। यसै क्रममा प्रचण्ड-नेपाल पक्षको नेकपा सुर्खेतले शक्ति प्रदर्शन गरेको छ।

बिहिबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले २००७ सालदेखि आजसम्म पनि निरन्तर संघर्ष जारी रहेको स्मरण गरे। जनताका माग र देशको आवश्यकताका बारेमा उठाएका आवाजहरु प्रधानमन्त्री केपी ओलीले नसुन्दाको परिणतस्वरुप आजको दिन आएको उनको भनाई छ।

प्रचण्ड-नेपाल समूहको संघर्ष कुर्चि र सत्ताको लागि नभएको स्पष्ट पार्ने कोसिस गरेका नेता शर्माले पार्टीको बहमुतको आवाजलाई व्यवास्ता गरेका कारण अस्थिरता र्सिजना भएको दाबी गरे।

स्थानीय सकार, प्रदेश सरकारलाई अधिकार दिने, संघीय संरचनालाई प्रभावकारी बनाउने कुरामा ओली राजी नभएको भन्दै संघीयताको रक्षा र गणतन्त्रको रक्षाका लागि आफूहरु आन्दोलित बनेको बताए। उनले भने, ‘ओलीले संघीयता र आमूल परिवर्तनका उपलब्धिहरु मास्ने काम गर्नु भयो। परराष्ट्र नीतिका बारेमा ओली चुक्नु भयो। उहाँ कहिले कतै, कहिले कतै ढल्किनु भयो। हामीले यसलाई सुधार्नु पर्नेछ।’

हामी समृद्धितर्फ हिड्न चाहन्छौं। ओली प्रतिगमनतिर। हामी कृषि क्षेत्रलाई स्वाधिन र आत्मनिर्भर बनाउ भन्छौं। ओली नेपालको कृषि क्षेत्रलाई भारतलाई बुझाउन चाहन्छन्। संघीयता खारेज गर्ने, चुनाव जित्ने रणनीतिका साथ अघि बढिरहेको ओली सरकारलाई वर्खास्तिको विकल्प छैन। सरकारले भ्रष्टाचार गर्यो। देश भ्रष्टाचारको चुङगुलमा फस्यो। यसरी देश अगाडि बढ्न सक्दैन भन्यौ। तर, ओलीले यसलाई सुधार गर्ने भन्दा पनि झन् उग्र बनाउनु भयो।’

कर्णालीको विकासका निम्ति सरकार गम्भिर नबनेको उनको भनाई छ। उनले भने, ‘ओलीले काठमाडौँका जनताले भन्दा मलाई गाउँका मान्छेहरुले सहयोग गर्छन् भनेर भन्नु भएछ। म उहाँलाई यसै कार्यक्रम मार्फत भन्न चाहन्छु, कर्णालीका जनताले तपाईंलाई साथ दिदैनौं। तपाई राजा बन्न चाहनु भयो। हामीले वहिष्कार गर्छौं। हामी गणतन्त्रको लागि लड्दै गर्दा उहाँले खिसि टिउरी गर्नुभयो। गयातन्त्र आउन सक्दैन भन्नु भयो।’

चुनाव प्रणालीलाई प्रत्यक्ष निर्वाचनको लागि हिजोका दिनमा कुराहरु उठाएको र आज यसको आवश्यकता पुष्ठि भएको नेता शर्माको दाबी छ। देश र जनताको भलोका लागि आफूहरु सडकमा आएको स्पष्ट पारेका छन्। देश र जनताको रक्षार्थ संघर्ष गर्नु परेको उनको भनाई छ।

राष्ट्रिय स्वाधिनताको रक्षा गर्न नसके दास बन्नुपर्ने र संविधानको रक्षा गर्न नसके निरंकुशताको सिकार हुनुपर्ने भएकाले यसका निम्ति संघर्षमा होमिनका आग्रह गरे। ओलीको असंवैधानिक कदमलाई परास्त गरेरै छोड्ने प्रभाकरको भनाई छ।

उनले भने, ‘केपी ओलीले संविधानको एक धाराको हत्या गरेका होइनन। संधिानको हत्या गरेका हुन्। राष्ट्रघाती सरकारको रक्षामा प्रहरीले लाग्नु हुँदैन। माघ ९ गतेको राजधानीको विशाल प्रदर्शनमा उत्रिनका लागि हिड्ने जनतालाई रोक्न आदेश दिएको सूचना मैले पाएको छु। यदि त्यस्तो गरिएको खण्डमा सशक्त प्रतिपाद हुनेछ। सुर्खेतको मैदानबाट सरकारलाई यो चुनौती दिन चाहन्छु।’

राष्ट्रघातीसँग पार्टी एकता नहुने भन्दै नेता शर्माले यस कुरमा भ्रममा नपर्न सु्झाव दिएका छन्। साथै केपी ओलीको जनघात र राष्ट्रघातलाई पराजित गर्न सबै एक स्थानमा आउनुपर्ने नेता शर्माको भनाई छ।