सुर्खेतमा प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शन



सुर्खेत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले सुर्खेतमा शक्ति प्रदर्शन गरेको छ।

गत पुस पाँच गते प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलिभगतमा प्रतिनिधिसभा विघटन भएपछि आन्दोलित बनेको उक्त समूहले बुधबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा शक्ति प्रदर्शन गरेको हो।

प्रचण्ड–नेपाल समूहले वीरेन्द्रनगरमा विरोधसभाको आयोजना गरेको शक्ति प्रदर्शनलाई सम्बोधन गर्न अध्यक्ष माधव नेपाल, केन्द्रीय नेताहरु शक्ति बस्नेत, जनार्दशन शर्मा, विष्णु रिमाललगायत सुर्खेत पुगेका छन्।

अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान जारी गर्ने बेलामासमेत तयार नभएको बताए। उनले भने, ‘गणतन्त्रको अपनत्व केपी ओलीले राख्न सक्दैनन्। केपी ओलीले गणतन्त्र जन्माएका होइनन् । गणतन्त्रबारे केपी ओलीले विरोध गरेका हुन् कि होइनन्रु गणतन्त्रमा केही तत्वहरु सल्बलाइरहँदा उनी पनि विरोधी थिए।’

‘उनले अगाडि भने, ‘सानो गुट चलाइरहेका र यही शासन गरेर ब‍स्ने भ्रम पालेर बसेका छन्। संविधानको कुनै धारा उल्लेख नभएको कागज अदालतमा पुगको छ। यसरी संविधानअन्तर्गत प्रतिनिधिसभा विघटन गर्न पाइँदैन। प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार दिएको छैन।’

पार्टीको निर्णय अवज्ञा गरेर तानाशाही बनेका ओलीलाई उनले ओलीको पक्षमा सानो झुण्ड मात्र भएको बताए। उनले भने, ‘केपी ओलीलाई सोध्नुस्, तीन सय बढी कि रु सय बढीरु केपी ओलीलाई पार्टीको साधारण सदस्यबाट हटाउने तयारी भइरहेको छ। आज ओलीलाई हामी पार्टीको साधारण सदस्यबाट पनि हटाउने कसरतमा छौं। हाम्रा साथी सुरेन्द्र पाण्डे बालुवाटारमा पुगेर चिठी बुझाएका थिए ओलीले स्पष्टीकरण दिने आँट पनि गर्न सकेनन्।’

त्यस्तै पूर्व सभामुख तथा स्थायी कमिटी सदस्य कृष्णबहादुर महरा, वर्षमान पुनः पूर्व सभामुख ओनसरी घर्तीलगायतको उपस्थितिमा प्रतिगमनविरूद्ध रोल्पाको सुलिचौरमा आयोजित विरोधसभालाई सम्बोधन गरेका छन्।