काठमाडौँ। नेकपा प्रचण्ड-माधव सूमूहका कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ ले पत्रकारहरुलाई समाचार लेखेर मात्रै परिवर्तनको रक्षा हुन नसक्ने बताएका छन्।
बुधबार ललितपुरको एक रेष्टुरेन्टमा कर्णालीका पत्रकारहरुसँग कुराकानी गर्दै नेता शर्माले उक्त कुरा बताएका हुन्। नेकपा विभाजन भएसँगै विभक्त बनेका नेपाल प्रेस संगठनका पत्रकारहरुलाई एकतावद्ध भएर अगाडि बढ्न सुझाव दिएका छन्।
प्रभाकरले आफ्ना पक्षीय कर्णालीका पत्रकारहरुलाई मुद्दामा केन्द्रित भएर समाचार सम्प्रेषण गर्न आग्रह गरे। उनले भने, ‘मैले कुनै गल्ती गरेको छु भने पनि लेख्नुहोस्। अहिले देशमा संविधानमाथि हमला भएको छ। प्राप्त उपलब्धि जोगाउन पत्रकारको भूमिका महत्त्वपूर्ण छ। निरन्तर खबरदारी गर्नुहोस्। मुद्दामा केन्द्रित भएर समाचार सम्प्रेषण गर्नुहाेस्।’
उनले संविधानमाथि कू गरेर प्रधानमन्त्री केपी ओलीले घर जलाएको आरोप लगाए। उनले भने, ‘हामीले ओलीको प्रतिगामी कदम रोक्नैपर्छ। भावि पुस्ताले यस प्रकारका संघर्ष गर्न नपर्ने गरी हामीले काम गर्नुपर्छ। तपाईंहरुले समाचार लेख्नेमात्रै होइन समाजवादका लागि आफ्नो उपस्थिति जनाउनुपर्छ। हामीले कर्णालीमा समाजवादको नर्सरीको बिस्तार गर्ने योजना अघि सारेका छौं।’
उनले अगाडि भने, ‘हाम्रो विद्यमान संविधान समाजवादोन्मुख छ। यसलाई त्यसरी नै अगाडि लैजानुपर्ने आवश्यकता छ। ओली सरकार संघीयता विरोधी, जन विरोधी र संविधान विरोधी बनेको अवस्थामा हामी सबै मिले वर्तमान समस्याबाट कसरी पार लगाउनु सकिन्छ ? त्यो पनि सोचौ। साथै एक अर्काका कुराहरु पढौं। मैले तपाईंहरुका समाचार पढेको हुन्छु। तपाईंहरुले मेरा विचारहरु पढ्नुहोस्। केही गल्ति भए सच्याउने मौका दिनुहोस्।’
नेता शर्माले हाल उत्पादन र साँस्कृतिक अभियान सुरु भएको दाबी गरेका छन्। आचार, ब्यवहार र विचारको अभियानलाई एक नर्सरीका रुपमा समाजवादको यात्रा कर्णालीबाट सुरुवात गर्नुपर्नेमा जोड दिएका छन्। बैचारिक योजना र कार्य व्यवहारलाई एकसाथ संयोजनकारी तवरले अगाडि बढाउनुपर्ने नेता शर्माको भनाई छ।