काठमाडौँ। भारतले दिएको कोरोना विरुद्धको खोप बिहिबार काठमाडौं आइपुग्ने भएको छ।
भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाविरुद्धको खोप अनुदान दिने औपचारिक घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिए।
अनुदानको खोप बिहीबारदेखि नै आउन थाल्ने उनले बताए। पहिलो चरणमा स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सुरक्षाकर्मीलाई दिइने मन्त्री त्रिपाठीले बताए।
स्वास्थ्यमन्त्री त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राको संयुक्त पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले १० लाख खोप ल्याउन तयारी पूरा भई भोलि काठमाडौंमा खोप आइपुग्ने बताए।
भारतको सिरम इन्स्टिच्युटमा उत्पादन भइरहेको अक्सफोर्ड एक्ट्राजेनेकाको कोभिसिल्ड नामक खोप ल्याउन लागेको हो। वितरणको लागि भने केही समयपछि गर्नेछ। मन्त्री त्रिपाठीले आज ऐतिहासिक दिन भएको पनि बताएका छन्। उनले खोप ल्याउन कानुनी, प्राविधिक,आर्थिक रुपमा समस्या नभएको समेत जानकारी दिए । भारतले अनुदानमा दिएको खोप लगाउने प्राविधिक रुपमा तयार भइसकेको छ।
उनले भने, ‘भ्याक्सिन खरिदमा भारतले महत्वपूर्ण सहयोग गर्नेछ। र, बाँकी नागरिकलाई पनि छिटै खोप पुयाउनेछौं। र यसले नेपाल र भारत बीच थप मित्रता सम्बन्ध कायम भएको छ।’
तस्बिर: मुकुन्द कालिकोटे