गैरकानूनी तरिकाले परीक्षा संचालन गर्ने ३ जना शिक्षक पक्राउ



कास्की। परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य गरेको अभियोगमा पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक बिद्यालय कास्कीका ३ जना शिक्षकलाई सोमबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका १८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका १ बाघबजार बस्ने उक्त बिद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका ४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका ११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका २० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन्।

उक्त विद्यालयका शिक्षकहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्यसमेत भएको हुन सक्ने देखिएकोले आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही हुन भन्ने राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।