पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न अनेरास्ववियूको माग



काठमाडौँ। अनेरास्ववियू (प्रचण्ड-नेपाल) पक्षले पेट्रोलियम पदार्थमा मुल्यवृद्धिको विरोध गरेको छ।

नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी बढाएको उक्त मूल्यवृृद्धिको अनेरास्ववियूले विरोध जनाएको हो। मंगलबार एक विज्ञप्ति जारी गरेर केपी ओली सरकारले पेट्रोलियम पदार्थको मुल्यवृद्धि गरेर थप जनघाती काम गरेको स्पष्ट पारेको छ।

सहसंयोजक रन्जित तामाङले एक विज्ञप्ति जारी गरेर कोरोनाको कहरमा जनतालाई राहत दिनुको सट्टा हरेक खाद्य सामाग्रीेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएर जनघाति काम गरेको दाबी गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगनकारी कदम चालेर सर्वत्र नाङ्गिएको ओली सरकारले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेर थप जनघाती काम गरेको छ। मुलुक र जनताप्रति कुनै संवेदनशीलता नभएको ओली सरकारले कोराना कहरका कारण थिलोथिलो भएका जनतालाई राहतको दिनुको सट्टा उल्टो आहत दिने काम गरेको छ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘प्रतिगमनको दिशामा हिडेको असंवैधानिक ओली सरकारले जनताको ढाड सेक्ने गरी पुनः पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मुल्यवृद्धि गरेको छ।

अन्तर्राष्ट्रिय मूल्य अनुसार स्वचालित मुल्य प्रणाली कायम गर्ने प्रचलन र समझदारीलाई लत्याउँदै गरिएको यस प्रकारको मुल्यवृद्धिको निर्णयलाई तत्काल खारेज गर्न जोडदार माग गर्दछौं। यसका साथै प्रतिगामी ओली सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धिको बिरुद्ध संघर्षमा उत्रन आम जनसमुदाय एवम् बिद्यार्थीहरुमा अपिल गर्दछौं।’