‘नेकपाभित्रका महाराज देख्न र चिन्न सकेनौ’



काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका स्थायी समिति सदस्य तथा युवा नेता योगेश भट्टराईले आफ्नै पार्टीभित्रका महाराजहरुलाई चिन्न र देख्न नसक्दा आजको दिन आएको स्वीकारेका छन्।

मंगलबार काठमाडौमा प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपालमा भएका पटक पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टी भित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेकाले पुन आन्दोलन गर्नुपरेको बताएका हुन्।

अवको क्रान्तिबाट महाराज शैलीका शासक नखोजेको बताए। ‘जारी आन्दोलनले अव यो क्रान्ति, संघर्ष र जागरणले हाम्रो छेवैमा भएका महाराजहरु रहदैनन् भन्ने संकल्प गर्नुपर्छ। कम्युनिस्ट पार्टीको नाममा अलोकतान्त्रिक शासनको जन्म भयो। यसको हिसाब किताब चुक्ता गर्नुपर्नेछ, पार्टी भित्रको व्यवस्था बदल्न नसक्दा पीडा भोग्नु परेको छ। विधान, संविधान र जनअधिकारको खिलाफमा जाने शासक जन्मदैन भन्ने संकल्प गर्नुपर्ने छ’ नेता भट्टराईको भनाई छ।

संसद विघटनपछि दुईवटा पसल खुलेको भन्दै उनले दुःध विक्री गर्ने पसल वा रक्सी भट्टितिर जाने भन्ने निर्णय गर्ने बेला आएको पनि बताए। भट्टराईले नेकपाको मुल नेतृत्व प्रचण्ड र माधव नेपाल रहेको भन्दै यही पार्टी नै आधिकारिक भएकाले यसले समाजदउन्मुख व्यवस्थाका लागि पहल गरिरहेको बताए।

कार्यक्रममा उनले नेपाल प्रेस संगठनबारे विभिन्न भ्रम फैलाइएको भन्दै स्थापनाकालका अग्रजहरु शम्भु श्रेष्ठ, बालकृष्ण चापागाई र ओम शर्माहरु रहेको संगठन नै आधिकारिक प्रेस संगठन भएकाले नअल्मलिन सदस्यहरुलाई सुझाव दिए। कार्यक्रममा अध्यक्ष पुष्पकमल ‘प्रचण्ड’ र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।