‘केपी ओलीको भाषामा राजाको भाषा गन्हायो’



काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषा पुर्व राजाकै भाषा गन्हाएको दाबी गरेका छन्।

मंगलबार प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले पुस ५ को सरकारको कदम प्रतिनिधिसभा विघटन मात्र नभएर संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, शान्ति प्रकृयालाई भंग गर्ने र देशलाई दुर्घटनातिर लैजाने दुश्कर्मको सुरुवात भएको बताए। उनले हेर्दाहेर्दै आफ्नै पार्टीको प्रधानमन्त्रीले आफैले जन्माएको संविधानको बच्चाको हत्या गर्न लागेकाले त्यो रोक्न लागि संघर्ष गर्नु परेको बताए।

प्रधानमन्त्री ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गरेको र त्यसमा राजाकै भाषा प्रयोग गरिएको बताए। ‘प्रधानमनत्री ओलीको भाषामा राजाकै भाषा ह्वास्स गन्हाएको छ’ प्रचण्डको भनाई छ। उनले ओलीले राजतन्त्र पुनःस्थापना र देशलाई विध्वंश गर्ने प्रतिक्रान्तिको योजना जसरी पनि असफल पार्नुपर्ने बताए।

उनले प्रतिगमन र प्रतिक्रान्तिको प्रयास रोक्न पत्रकारहरुको भेला सफल हुनेमा विश्वास व्यक्त गर्दै संविधान र गणतन्त्रको रक्षा गर्नु सवैको दायित्व भएको बताए। त्यसक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले पटकपटक नेकपा फुटाउन प्रयास गरेको भन्दै बैठक चलिरहेका बेला नेकपा एमाले दर्ता गर्न लगाएर प्रतिगमनको सुरुवात गरेको बताए।

प्रचण्डले ओलीको खोक्रो राष्ट्रवाद नांगिएको भन्दै पार्टीले गर्दा संसद विघटन गर्नुपरेको भनेर कूतर्क गरिरहेको बताए। ‘पार्टी र देशको संविधानलाई पनि कुल्चेर उहाँ निरंकुश शासक बन्ने प्रयास गर्नुभयो। उहाँलाई म गाली गर्दिन। तर्क गरिरहेको छु। पूर्व एमालेमा खेल्यो भन्नुहुन्छ। माधव नेपाल, झलनाथ खनाललाई विश्वासमा लिन नसक्ने भर्खरै एकता गरेको प्रचण्डले कसरी विश्वासमा लिन सक्यो केपी ओलीजी म प्रश्न गर्न चाहान्छु’ प्रचण्डले प्रश्न गरे। उनले ओलीको निरंकुश र दम्भका कारण अहिलेको अवस्था आएको भन्दै प्रचण्डले गत माघमा केन्द्रीय समिति बैठक भव्य रुपमा सम्पन्न भएपछि ओली आत्तिन थालेको बताए।

उनले ओलीको हातमा अब केही पनि नरहेको र ओलीले हारिसकेको बताए । प्रचण्डले हिटलर र गोर्भाचोभसँग तुलना गर्दै ‘अब केपीको हातमा केही पनि छैन, प्रष्ट बुझ्नुहोला। जुन दिन केपीले संसद विघटन गर्नुभयो त्यो दिनदेखि केपीको हात सकियो। अन्तै छ चिजहरु।’ उनले अन्ततः फैसला गर्ने निर्वाचन आयोगलाई आफुले केही नभने पनि सही फैसला हुन्छ भन्नेमा विश्वस्त रहेको बताए।

उनले अन्ततः जनताले मात्रै सहि फैसला दिने भएकाले आफुहरु जनतामा गएको बताए। केपी ओलीले आयोग र सर्वोच्चलाई धम्क्याउदै हिँडेको र सेटिङ गरेको भन्ने केपी गुटलाई प्रश्न गर्नुपरेको प्रचण्डले बताए। देश भाँडमा जाने ओलीको कर्मको फल ओलीले चाँडै भोग्ने बताउँदै प्रचण्डले प्रेस संगठनलाई प्रतिगमनको दुस्साहसलाई पराजित गर्नेगरी आन्दोलनको आँधीहुरी ल्याउनका लागि अघि बढ्न आग्रह गरे।

कार्यक्रममा वरिष्ठ पत्रकार नारायण वाग्लेले प्रतिगमविरुद्धको आन्दोलनमा प्रस्ट हुन नेतृत्वलाई आग्रह गरेका छन् । प्रेश संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई शुभकामना दिँदै पत्रकार वाग्लेले प्रतिगमन, विकास र सम्मृद्धिबारे जनतालाई प्रस्ट पार्न सकेमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको प्रतिगामी कदममा जनताले साथ दिने बताए । उनले प्रतिपक्ष दलका नेता नै प्रधानमन्त्रीको दैलोमा चहारेको भन्दै आक्रोश पोखे। ‘प्रतिपक्ष दलका नेता प्रधानमन्त्रीको दैलोमा किन चाहानुपरेको रु’ वाग्लेको प्रश्न छ।

उनले संसद पुनर्स्थापना भएरै छाड्नेमा आफू विस्वस्त रहेको भन्दै तर पुनर्स्थापना केका लागि भनेर जनतालाई बुझाउन सक्नुपर्ने बताए। ‘यसमा नेतृत्वको प्रतिवद्धता चाहिन्छ’, पत्रकार वाग्लेको भनाइ छ। उनले प्रचण्डले मांशाहरी आन्दोलनबारे दिएको अभिव्यक्तिको प्रभाव कस्तो पर्छ भन्ने ध्यान दिन आग्रह गरे।

त्यस्तै वरिष्ठ पत्रकार शम्भु श्रेष्ठले आफूलाई बालुवाटारले पेडा खान आउन बारम्बार आउन आग्रह गरेपनि आफूले अस्वीकार गरेको बताएका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै श्रेष्ठले असली पेडा पसल चिन्न आग्रह गरे । उनले प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने र हत्या गर्नेबीच लडाइँ जारी रहेकाले गणतन्त्रको हत्या गर्ने पक्षले आफूलाई असली पेडा पसल बालुवाटारको हो भन्न बोलाएपनि आफूलाई विश्वास नलागेको बताए। ‘बाजेकोे पेडा पसल मै हुँ भनेर बालुवाटारमा पेडा पसल थाप्नु भएको छ । तर, साँचो अर्थमा नेपाल कम्युनिस्ट पार्टी नेकपा यहाँ छ। तर अर्को नेकपा पेडा बालुवाटारमा छ।’

उनले हिजो बेलुका र बिहान समेत पेडा खान फोन आएको भन्दै उनीहरुको नियत बुझेर गणतन्त्र ध्वस्त पार्नेहरुलाई साथ दिन नसकिने बताए। पूर्व प्रेस चौतारीका अध्यक्ष समेत रहेका श्रेष्ठले पेडा पसलका गफमा नभुल्न र प्रतिगामी कदमका विरुद्ध लाग्न सवैलाई आग्रह गरे।

प्रेस संगठन नेपालका सहइन्चार्ज ओम शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले वडाध्यक्ष हुन पनि नसुहाउने मानिसलाई मन्त्री बनाएको टिप्पण्नी गरेका छन् । प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै शर्माले प्रेस संगठन सत्यको पक्षमा लाग्ने संगठन भएकाले ओलीले चालेको गलत कदमको विरोध गरेको बताए । उनले ओली माहाराज बन्ने प्रयासमा लागेको भन्दै कोहीपनि त्यस्ता महाराजहरुको धाक धम्कीबाट नडराउने बताए । उनले संविधान जोगाउनका लागि अग्रगमनका पक्षमा पत्रकारहरुले कलम चलाउनुपर्नेमा पनि जोड दिए ।

‘प्रतिगमनका विरुद्ध हामी कहिल्यै झुक्दैनौ। जनताको संविधान बचाउन सकियो भने आमाबाबु, समस्त कलमजीवीका सपना पुरा गर्नेछौ’ शर्माले भने । उनले ओली खुट्टामा तोरीको तेल लगाएर केराको बोटमा चढ्न खोजेको टिप्प्णी गर्दै उनी लड्ने निश्चित रहेको पनि दावी गरे । उनले संसद विघटन गर्ने कदमप्रति ओलीले माफी माग्नुपर्ने समेत बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले भेलाको सफलताको शुभकामना दिँदै सञ्चारकर्मीहरुले सधैँ लेख्ने र बोल्ने स्वतन्त्रता खोज्ने भएकाले नेपालका पत्रकारहरुले सडकमा लडेर अहिलेको व्यवस्था ल्याएकोले आफूहरुसमेत सहयात्री भएको बताए। उनले पुस ५ को कदमले प्रतिनिधि सभा भंग नभएको भन्दै संविधानमाथि प्रहारमात्रै भएको बताए। उनले ओलीको कदमविरुद्धको अभियानमा साथ दिन प्रतिवद्ध रहेको जानकारी दिए।

तस्बिरः मुकुन्द कालिकोटे