काठमाडौँ। चिनजान पहिलेदेखि नै थियो। छात्रवृत्तिका लागि फन्ड जुटाउने क्रममा कुराकानी अघि बढ्दै गर्दा हामी नजिकिएका हौं। ११ गते बिहे हो। त्यसपछि मात्रै सबै कुरा खोलेर भन्छु। उमेर भनेको एउटा नम्बरमात्रै हो।’ २०१८ मा मिस मंगोलको उपाधि जितेलगत्तै पहिलो टेलिभिजन अन्तर्वार्तामा जाङमु इन शेर्पालाई सोधिएको थियो, ‘बिहे कहिले गर्ने योजना छरु’
त्यसबेला भर्खरै ‘टिन एज’ पार गर्न लागेको बताएकी उनको जवाफ थियो, ‘जब सम्पूर्णरुपले आत्मनिर्भर हुन्छु, अनि मात्र बिहे गर्छु।’ त्यतिञ्जेल त ३०–३५ काटिएला। ३०–३५ वर्षमा त केटाहरुले हेर्दैनन् भन्छन निरु’ जाङमुलाई अन्तर्वार्ताकारले प्रतिप्रश्न गरे। ‘ठिकै छ नहेरे पनि। उमेर भनेको एउटा नम्बरमात्रै हो। उमेरसँग मलाई कुनैपनि समस्या छैन। उमेर बढ्दै गयो र मैले केटा पाइनँ भने ठिकै छ’, जाङमुको आत्मविश्वासपूर्ण उत्तर थियो, ‘म एक्लैपनि बाँच्नसक्छु।’
आफ्नो बिहे योजनाबारे त्यस्तो उत्तर दिएको दुईवर्षपछि जाङमुको जीवनमा अहिले त्यही प्रसंग दोहोरिएको छ। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसँग माघ ११ गते जाङमुले लगनगाँठो कस्ने तयारी गरेपछि उनीहरुबीचको ‘उमेर अन्तर’ लाई सामाजिक सञ्जालमा चर्चाको विषय बनाइएको छ।
उनका जीवनसाथी बन्न लागेका मुख्यमन्त्री राई उनीभन्दा झण्डै दोब्बर ९५० वर्ष० उमेरका छन्। यसबारे नेपालखबरको प्रश्नमा जाङमुले सोमबार पनि त्यही दुईवर्ष अघिकै उत्तर दोहोर्याइन्, ‘उमेर भनेको एउटा नम्बरमात्रै हो।’
जाङमुले भनिन्, ‘हामीबीच उमेर केही फरक छ तर मेरो साँच्चिकै उमेर मिडियामा आएको जस्तो हैन।’ ‘हामीले अहिले मिडियामा नबोल्ने, बिहेपछि मात्रै बोल्ने निर्णय गरेका छौं। ११ गतेपछि मात्रै सबै कुरा खोलेर भन्छु’, उनले थपिन्, ‘उमेर भनेको एउटा नम्बरमात्रै हो।’
यही माघ २ गते शेरधन राईको सचिवालयबाट उनको बिहे हुन लागेको खबर बाहिरिएको थियो। त्यसलगत्तै राई स्वयमले पनि सो कुराको पुष्टि गरे। कुराकानीमा मुख्यमन्त्री राईले हुनेवाली बेहुलीको बारेमा केही नबताए पनि माघ ११ गते आफूले बिहे गर्न लागेको खुलाएका थिए। ‘चाँडै नै विवाह हुँदैछ। तर अहिले प्रदेशको राजनीतिको विषयमा व्यस्त छु,’ राईले नेपालखबरसँग भने, ‘विवाहको कार्यक्रम माघ ११ गते काठमाडौँमा हुनेछ। युवतीबारे भने पछि नै खोलौंला।’
राईको जन्म भोजपुर जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने थिदिङ्खा गाउँमा २०२७ सालमा भएको हो। शेरधन तीन सन्तानमध्येका एक हुन्। उनका दुई बहिनी छन्। उनका बुबा जागिरमान पंचायतकालमा वडाध्यक्ष थिए। बुबाकै पदचाप पछ्याउँदै राई विधार्थी राजनीतिमा होमिएका हुन। ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य रहेका राई संघीय सरकारमा यसअघि सूचना तथा संचार प्रविधिमन्त्री थिए।
२०७४ फागुनमा उनी प्रदेश १ को मुख्यमन्त्री बनेका हुन्। संखुवासभाकी जाङमु सानैदेखि काठमाडौंमा बस्दै आएकी हुन्। उनका बाबु–आमा भने अमेरिकामा बस्छन्। सानैदेखि उनको रुची सौन्दर्य र मनोरञ्जन क्षेत्रमा छ।
विगत पाँच वर्षदेखि जाङमु मोडलिङमा सक्रिय छिन। ११ वर्षकै उमेरमा उनले ‘मिस किड क्वीन’ मा सहभागिता जनाएकी थिइन्। एसएलसी दिएपछि ‘मिस एसएलसी आइडल’ र प्लस टूमा अध्ययनका क्रममा उनले ‘मिस इ कलेज’ जस्ता सुन्दरी प्रतियोगितामा सहभागिता जनाएकी थिइन्। उनले सेप्टेम्बर २०१८ मा भएको ‘मिस मंगोल’को उपाधि जितेकी हुन्। मिस मंगोल भएपछि उनी विभिन्न सामाजिक काममा सक्रिय रहिन्।
उनलाई मिस मंगोलको ताज पहिरिएपछि के गर्ने भन्ने प्रश्न तेर्सिइरहन्थे। सोही कारण उनी आर्थिक अभावमा विद्यालय जानबाट बञ्चित बालबालिकाको शिक्षाका लागि छात्रवृत्ति कोष स्थापनामा जुटेकी थिइन्।
जाङमुका अनुसार त्यही छात्रवृत्तिका लागि कोष जुटाउने क्रममा राईसँग उनको कुराकानी हुनुका साथै भेटघाट बाक्लिएको हो। त्यहीँबाट दुवैबीच माया झागिँदै गयो। चिनजान पहिलेदेखि नै थियो। फन्ड जुटाउने सिलसिलामा कुराकानी अघि बढ्दै गर्दा हामी नजिकिएका हौं,’ जाङमुले भनिन्, ‘११ गते मेन इभेन्ट (बिहे) हो। त्यसपछि मात्रै थप बोलौंला।’
मिस मंगोल नेपाल २०१८ का विजेता जाङमुसँगै, फस्ट रनरअप प्रीति गुरुङ, सेकेन्ड रनरअप पुनम शेर्पा तथा मिस मंगोलको आयोजक एक्सन इन्टरटेनमेन्टका अध्यक्ष अशोकप्यासी राईले यो छात्रवृत्ति कोषको स्थापना गरेका हुन्। जाङमुसँग अशोकको चिनजान मिस मंगोलकै दौरान भएको हो। अशोकका अनुसार जाङमु र शेरधनबीचको सम्बन्ध छात्रवृत्ति कोषकै कार्यक्रमपछि घनिष्ठ बन्दै गएको हो।
‘चिनजानकै आधारमा छात्रवृत्तिको उद्घाटन कार्यक्रममा पनि उहाँ ९शेरधन० लाई नै बोलाउन खोजिएको थियो तर उहाँको व्यस्तताले सम्भव भएन,’ अशोकले भने, ‘त्यसपछि कार्यक्रमकै दौरान उहाँहरुबीच कुराकानी हुँदै गयो। दुवैले एकअर्कालाई मन पराएपछि अहिले बिहे पक्का भएको छ।’
जाङमु अहिले पनि छात्रवृत्ति कोषकै कार्यक्रममा व्यस्त रहन्छिन। छात्रवृत्ति कोषमा ५० लाख रुपैंयाँ जम्मा गरिने र त्यसबाट आउने ब्याजले विधार्थीहरुलाई एसईईको अध्ययनका लागि छात्रवृत्ति दिने उनीहरुको योजना छ। यसै छात्रवृत्तिबाट अघिल्लो वर्ष ३ जना विधार्थीले छात्रवृत्ति पाइसकेका छन्।
मिस मंगोल हुनुअघि जाङमुले सगरमाथा चढ्ने लक्ष्य समेत राखेकी थिइन्। आधार शिविरसम्म पुगेर फर्किएकी उनी मिस मंगोल बनेपछि भने छात्रवृत्तिकै कार्यक्रममा व्यस्त रहिन्। काठमाडौंमा ११ गते आफन्त, पार्टीका नेता र नजिकका मानिसहरुबीच शेरधन र जाङमुको बिहे हुनेछ। त्यसपछि विराटनगरमा भोज आयोजना हुने शेरधनको सचिवालयले जनाएको छ।