मधेश आन्दोलनको स्मरण



धनुषा। प्रदेश नम्बर २ सरकारले बलिदान दिवसको अवसरमा जनकपुरधाममा कार्यक्रम गरिरहँदा मधेश आन्दोलनमा सहभागी युवाहरुको एक समूहले छुट्टै कार्यक्रम गरी बलिदान दिवस मनाएको छ।
सोमबार जनकपुरधामको जनक चोकमा मधेश जनविद्रोह २०६३ को ब्यानरमा आयोजनामा भएको कार्यक्रममा सहभागीले मुख्यमन्त्री लालबाबु राउत, विभिन्न मन्त्रीदेखि जसपाका मुख्य नेताहरुको कडा आलोचना गरेका छन् ।

तत्कालीन समयमा अधिकार र पहिचानका लागि मधेश आन्दोलनको अगुवाई गर्ने युवाहरुले प्रदेश सरकार जनताको नभई व्यत्तिवादी, नातावादी, कृपावादी र दलाल व्यवसायीको हुन पुगेको आरोप लगाए । उनीहरुले प्रदेश सरकारले सत्तामा पुग्नका लागि अझैपनि आन्दोलनको नाटक गरेर जनतालाई अलमलमा पार्नका लागि भ्रम छर्ने कार्य गरिरहेको आरोप समेत लगाए।
मधेश अधिकार संघर्ष समितिका संयोजक सरोज कुमार मिश्रले मधेसी दलले सत्ता र सरकारमा जानका लागि जनताको छोराछोरीलाई प्रयोग गरेर आन्दोलनको उपलब्धिलाई नै बेचेको आरोप लगाए।

त्यस्तै अर्का नेता सुशिल कर्णले प्रदेशको विकासको नाममा अहिले प्रदेश सरकार धार्मिक अतिक्रमण गर्ने कार्यमा लागि परेको आरोप लगाए।
तत्कालिन मधेश जनअधिकार फोरम नेपाल धनुषाका अध्यक्ष दिनेश पूर्वेले प्रदेश २ सरकारमा आसन रहेका मन्त्रीहरुले जनताको भावनामाथि कुठाराघात गरेको आरोप लगाए ।
जसपाका नेता समेत रहेका अरुण मिश्रले प्रदेश सरकारले आफ्ना नातागोता, जातीवाद र विचाैलियालाई नियूक्त दिने गरेको आरोप लगाए ।

त्यसैगरी मधेशवादी नेता दिपक कुमार झाले मधेश आन्दोलनको बेला आन्दोलनको विरोधमा कुरा गर्नेहरु नै अहिले सरकारमा रहेको र उनीहरुबाट केही आश गर्न नसकिने बताए।