‘पार्टीको आन्तरिक विवादका नाममा संसद विघटन गर्न मिल्दैन’



 

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको आन्तरिक विवाद मिलाउन नसकेर राष्ट्र र जनतामाथि रिस पोखेको गुनासो पोखेका छन्।

सोमबार गणेशमान सिंह तथा शहिद स्मृति शान्ति प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको ‘संसद विघटनः संवैधानिक एवं राजनीतिक अन्योलता र त्यसको निरुपण’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो टिप्पणी गरेका हुन्।

उनले प्रधानमन्त्री ओलीका असंवैधानिक कदमलाई सहयोग गर्नेभन्दा रोक्ने अदालत आवश्यक परेको पनि बताए। उनले संविधानअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको स्पष्ट पारे।

उनले भने, ‘प्रधानमन्त्री ओलीले पार्टीभित्रको आन्तरिक व्यवस्थापन गर्न नसक्दाको रिसले प्रतिनिधि सभा विघटन गर्नुभयो। यो राष्ट्र र जनतामाथि उहाँले रिस पोख्नुभयो। प्रधानमन्त्री ओलीको कदम सच्याउन कांग्रेस एक्लै आफ्नै संगठनलाई लिएर आन्दोलनमा जान्छ।’

तस्विर: मुकुन्द कालिकोटे