काठमाडौँ। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको बताएका छन्।
आइतबार अनेरास्ववियूले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापनाका लागि कुनै हालतमा नझुक्ने बताएका छन्।
प्रचण्डले भने, ‘देशलाई अध्यारो भड्खालोमा हालेको धेरै बेर हेर्न सकिँदैन। हिजो पनि मर्न हिँडेको हो। मर्नुपरे मर्न तयार छौँ। तर, झुक्न तयार छैनौँ।’ इतिहासको निर्माता जनता भएको र इतिहासमा ठूलाठूला परिवर्तन जनताले गरेको भन्दै प्रचण्डले प्रतिनिधिसभा विघटनविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताए।
अगाडि उनले भने, ‘इतिहासको निर्माता जनता हो अरु कोही होइन। इतिहासमा ठूलठूला परिवर्तन जनताले गरेका छन्। गिरिजा, माधव, झलनाथ कमरेडहरुले टाउको फुटाएको स्मरण गरेको छु। किन किन मेरो टाउको चिल्याइरहेको छ। हामी जीवनको उत्तारार्धमा आइसकेका छौं। तपाईं युवाहरुको भन्दा एक कदम अगाडि लाग्ने र आवश्यक परे घेरा तोड्न तयार छौं। तपाईंको भन्दा पहिले हाम्रो टाउको फुटाउन तयार छौं।’