शाकाहारी आन्दोलन ओलीले सुन्दैनन्, गर्जिने बेला आयो: प्रचण्ड



काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग र आक्रामक आन्दोलनमा उत्रिन युवा तथा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्।

आइतबार आयोजित अनेरास्ववियूको भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी शर्मा ओली र उनका मानिसहरुले सेटिङ भइसकेको छ भन्दै हिँडेकाहरुको विरुद्धमा गर्जिनुपर्ने बेला आएको दाबी गरे।

ओलीको प्रतिगमगलाई परास्त गर्न सम्पूर्ण शक्तिको प्रयोग गर्ने बेला आएको प्रचण्डको भनाई छ। उनले भने, ‘हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो, आक्रामक हुनुपर्‍यो। बाघ–सिंह गर्जिए जस्तो गर्जिनुपर्‍यो ताकि प्रतिक्रान्तिकारीहरुको मुटु हल्लियोस्। अब शाकाहारी आन्दोलनले मात्र पुग्ने देखिँदैन।’

संसद विघटनविरुद्ध जनमत रहेको तर, आन्दोलनको स्वीच दबाउने काम युवा विद्यार्थीहरुको भएको बताए। आन्दोलनको अग्रपंक्तिमा आफूसहितका नेताहरु रहने भन्दै प्रचण्डले भने, ‘टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ।’ आन्दोलनकारीको रक्षाका लागि आफ्नो टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए। नेपाललाई प्रतिगमनतिर लगेर फइदा उठाउने कुनै शक्तिले सोचेको छ भने त्योे भ्रम हो’ उनले भने।

प्रचण्डले मन्त्रीको लोभमा ओली समूहमा लागेकाहरुको अनुहार नै चिन्न छाडेको प्रतिक्रिया दिए। एक जना कार्यकर्ता नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए। ‘ती जोगीहरु देखेर मलाई त लाज लागेको छ’ उनले भने, ‘यति धेरै खरानी खसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु।’

उनले केपी शर्मा ओलीलाई चिन्न किन ढिलो गरिएछ भनेर आफैंलाई समेत प्रश्न गरेका छन्। ओली प्रधानमन्त्रीका पदका लागि जे पनि गर्न तयार भएको, तर पदका लागि भनेर आफूहरुलाई आरोपित गर्ने गरेको उनले बताए। पार्टी एकता गर्दा भएको सहमति कार्यान्वयनमा उदारता देखाउनु आफ्नो कमजोरी प्रचण्डले सुनाए।

संविधान बनाउने क्रममा समानुपातिक समावेशी लगायत परिवर्तनका एजेण्डाको विरोध गरेका ओलीलाई आफैंले ‘कमरेड संविधान बनाऊँ, म तपाईंलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गर्छु’ भनेर पनि खुरुखुरु तयार भएको उनले सुनाए। तत्कालीन एमालेको बैठकमा आफ्नो धुँवाधार गाली गरेको दुई दिनपछि आफूले पार्टी एकताको प्रस्ताव गरेको भन्दै उनले भने, ‘प्रधानमन्त्री फेरि तपाईंलाई नै बनाउँछु नि भनेपछि हुन्छ कमरेड, म सकारात्मक रुपले सोच्छु भन्नुभय ।’