टाउको फुटाल्न परे म फुटाउँछु: प्रचण्ड



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले आन्दोलनको अग्रभागमा आफू उपस्थित हुने र टाउको फुटाल्न परे पनि आफै फुटाल्ने बताएका छन्।

आइतबार राजधानीको प्रज्ञा भवन कमलादीमा अनेरास्ववियू उपत्यका स्तरीय भेलालाई सम्बोधन गर्दै प्रचण्डले उक्त कुरा बताएका हुन्। प्रधानमन्त्री केपी ओलीको सर्वसत्तावादको अन्त्यका लागि आफूहरु मैदानमा आएको भन्दै अग्रपंतिमा लागेर टाउको फुटाल्न तयार रहको बताए।

उनले भने, ‘युवाहरु अलि आक्रमण रुपमा आउनु पर्यो। हामीहरु पहिलो लाइनमा लाग्छौं। टाउको फुटाउन परे हामी फुटाउन तयार छौं। कुनै बेला गिरिजा, माधव, झलनाथजीहरुको टाउको फुटाएको प्रतिगमनको याद गरेको छु। अब मेरो पालो हो। म अग्रभागमा लाग्छु। पछाडि युवाहरु लाग्नुहोस्।’

त्यस्तै प्रचण्डले आवेग र आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्। आन्दोलनको अग्रमोर्चामा आफू पनि हुने उनले बताए। आफू सम्वद्ध अनेरास्ववयूको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘शाकाहारी आन्दोलनले पुग्ने देखिएन। हाम्रो आन्दोलन आवेगमय हुनुपर्‍यो। आक्रामक हुनुपर्‍यो। बाघ र सिंह गर्जिए जस्तो हुनुपर्‍यो। प्रतिक्रान्तिकारीको मुटु हल्लिनुपर्‍यो।’

आन्दोलनको अग्रपंत्तिमा आफूसहितका नेताहरु पनि रहने समेत उनले बताए। पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भने, टाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन छ।’ कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए।

प्रचण्डले अर्का समूहमा लागेर मन्त्री भएकाहरुलाई देखेर लाज लागेको टिप्पणी गरेका छन्। आफ्नो पक्षका विद्यार्थीहरुको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘यति धेरै खरानी घसेका छन् कि मैले त अनुहार नै चिन्न छाडेको छु।’ आफूबाहेक एक जना पनि नभएकालाई पार्टीमा ल्याएर स्थायी कमिटीमा लगेको तर, मन्त्री हुन दौडिएको उनले बताए।

तस्बिर: मुकुन्द कालिकोटे