काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टीको स्थापना युवाहरुले गरेको स्मरण गरेका छन्।
काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै २०१९ सालपछि नेपाली कम्युनिष्ट पार्टी बिभाजन हुने कार्य सुरु भएको बताउँदै प्रचण्डले युवाहरुलाई सत्यको बाटोमा लाग्न आग्रह गरेका छन्। कम्युनिष्ट आन्दोलनको एकीकृत र घनिभूत अभियानमा प्रतिबद्ध हुन युवाहरुलाई आग्रह गरे।
प्रचण्ड युवाहरुको बलिदानबाट परिर्वतन सम्भव भएको भन्दै आगामी दिनमा नयाँ युवाहरुले समाजवादको नेतृत्व गर्ने अपेक्षा प्रकट गरेका छन्। उनले भने, ‘हामी जीवनको उत्तारार्धमा आइपुगेका छौं। हामी सबै पक्षहरुलाई अध्ययन गरेर आउने दिनमा सबल पक्षलाई अगाल्ने र नराम्रो पक्षलाई छोडेर आगामी दिनको क्रान्ति तपाईहरुले अगाडि बढाउनु हुनेछ।’
साथै उनले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताए। प्रचण्डले भने, ‘संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको छ। अहिले देश तनाबमा छ। संविधानको चिन्ता छ। यस्तोमा हामी हाँस्न सक्दैनौं। जन्ति जादाँ रुदै जाने र मलामी जादाँ हाँस्दै जाने ओली होइनै।’ सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्यापछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे।
अहिलेको व्यवस्था नै ओलीको चाहना नभएको प्रचण्डको आरोप लगाए। ‘आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो। आन्दोलनले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो। ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरे। प्रतिक्रियावादीहरुसँग साँठगाँठ भयो। त्यो अमान्य छ। घृणा गर्छौं। त्यो पतनको बाटो अस्वीकार्य छ। बहुमतको निर्णय पार्टी निर्णय हुने भए पनि उहाँले बहुमतको निर्णय मान्दिनँ भन्नुभयो। बैठकमै आए पनि बीचमै छोडेर हिड्ने गर्नुभयो। साथीहरुको विश्वास लिन सक्नु भएन।’
ओलीलाई प्रधानमन्त्री पार्टी बनाए पनि पार्टी निर्णय नमानेर देशलाई दुर्घटनातिर धकेलेको प्रचण्डको भनाई छ। ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिडेको प्रचण्डले आरोप लगाए। भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा भ्रष्टाचारी जोगाउनकै लागि ओलीले प्रयोग गरेको प्रचण्डको भनाइ थियो। अख्तियारमा मुद्दा चलिरहेका व्यक्तिलाई समेत ओली आफैले सफाइ दिने गरेको उनले बताए।
तस्बिर:मुकुन्द कालिकोटे