काक्रेविहार जंगलमा रहेका वन्यजन्तु असुरक्षित बन्दै



तस्बिर/समाचार: नेपालीरैवार डटकम

सुर्खेत। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित पर्यटकिय स्थल बुलबुले तालमा फसेको घाईते जरायोको उद्धार गरिएको छ। घाईते भई अचेत अवस्थामा तालमा फसेको करिब तीन वर्षको जरायोलाई आईतबार बिहान उद्धार गरिएको हो।

स्थानीयले तालको बिचमा जरायो फसेको देखेर खबर गरेपछि डिभिजन वन कार्यालयको टोलीले उद्धार गरी उपचार थालेको हो। सहायक वन अधिकृत टेक रावलका अनुसार घाईते जरायो संरक्षित क्षेत्र काक्रेविहार जंगलबाट बाहिर निस्केर अचेत अवस्थामा डौडिदाँ बुलबुले तर्फ आई तारहरुमा ठोक्किएर घाईते भएको अनुमान गरिएको छ।

जरायोको टाउकोमा चोट लागेको छ। अधिकृत रावलका अनुसार जरायोको उपचारपछि निको भएको खण्डमा सोही जंगलमा छाडिने छ। पछिल्लो समय काक्रेविहार जंगलमा रहेका जनावर असुरक्षित बन्दै गएका छन्। रातीको समय जंगलमा चोरी शिकारी बढेपछि जनावर असुरक्षित भई बाहिर निस्कन थालेको स्थानीयको अनुमान छ।