नेकपाका ३६७ कार्यकर्ता कांग्रेसमा प्रवेश,खतिवडाले गरे स्वागत



काठमाडौँ। नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्व सांसद रामहरि खतिवडाले म्युनिष्टहरुले सत्ता चलाउन नसकेको दाबी गरेका छन्।

पाँच वर्षका लागि जनताले दिएको जनादेशलाई समयअगावै घात गरेको भन्दै नेता खतिवडाले देशका कम्युनिष्टहरु धोकेवाज र गद्धार पुष्टि भएको दाबी गरे। नेपाली कांग्रेस खिजिदेम्बा गाउँपालिका ओखलढुङ्गाले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता खतिवडाले २०७४ सालको निर्वाचनमा २ वटा कम्युनिस्ट एक भएको जस्तो नाटक गरेर देश र जनतालाई समेत ढाँटेको आरोप लगाए। साथै उनले आगामी कुनै पनि निवार्चनमा कांग्रेसले बहुमतसहित सरकार बनाउने उनको दाबी छ।

कम्युनिस्टहरूले प्रधानमन्त्री र मन्त्री हुने तथा तलबभत्ता खाने र भ्रष्टाचारबाहेक अरु कुनै काम नगरेको आरोप समेत लगाए। जनताले झण्डै दुईतिहाइ बहुमत दिँदा पनि केही गर्न नसकेको कम्युनिस्ट सरकारले फेरि दुईतिहाइको लागि चुनाव घोषणा गरेको भन्नु सरासर झूट रहेकाले कोही पनि भ्रममा नपर्न उनले आग्रह गरे।

कार्यक्रममा पार्टी विभाजनसँगै झगडा गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। नवप्रवेशीलाई कांग्रेसले भव्य स्वागत गरेको छ।

तत्कालीन नेकपा एमालेबाट नेता क्षेत्रबहादुर परियार, वडा नम्बर १ सदस्य कमल सुनुवार, चर्चित नेता सुरेश सुनुवार, वडा नम्बर २ सदस्यका उम्मेदवार लालबहादुर तामाङ, संगठित सदस्य सन्तबहादुर बुढा, वीरबहादुर तामाङ र कृष्णबहादुर खड्का नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कार्यक्रममा पूर्व नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ३ वडा सदस्य उम्मेदवार विष्णु श्रेष्ठ र पूर्व माओवादी अध्यक्ष निधिभक्त सुनुवार, चण्डेश्वरी माविका अखिल नेता संजिव खड्का लगायत ३६७ जनाले नेपाली कांग्रेस पार्टी प्रवेश गरेको थियो।

नेपाली कांग्रेस पार्टी सभापति प्रदीपकुमार सुनुवारले नयाँ प्रवेशीलाई मनैदेखि स्वागत गर्दै उचित जिम्मेवारी दिने बताए। नेपाली कांग्रेसले धेरै दुःख गरेर ल्याएको संघीयतालाई कुनै पनि हालतमा खेर जान नदिने उनले बताए।

ट्रेड युनियनका पूर्व अध्यक्ष खिलानाथ दाहालले भने, ‘केपी ओलीले पुस ५ गते जुन रूपमा देशलाई अँध्यारोतिर लगेको छ, त्यसविरुद्ध नेपाली कांग्रेसले यसको विरोध सधै गर्नेछ। कम्युनिस्टले देशलाई पूरै भ्रष्टाचारमा डुबाएकाले यो सरकारको अराजकताको परास्त गर्न जुन रूपमा तपाईंहरूले नेपाली कांग्रेसलाई विश्वास गरेर आउनुभयो, यो विश्वासलाई मर्न दिइने छैन।’ नेविसंघ ओखलढुंगाका अध्यक्ष रोशन महतराले संसद विघटन कदमविरुद्ध संसद रक्षाका लागि नेपाल विद्यार्थी संघ सधै लड्ने उद्घोष गरेका छन्।