दाङ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्डऔनेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओली त्यही प्रतिनिधि सभाबाट चुनिएको प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताउँदै श्रेष्ठले उनको राजीनामा मागेका हुन्। उनले शनिबार दाङ जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै ओली प्रधानमन्त्री भइरहन नमिल्ने बताए।
उनले अगाडि भने, ‘उहाँ आफैँले प्रतिनिधि सभा विघटन गर्नुभयो। प्रतिनिधि सभा नभएको अवस्थामा उहाँ प्रधानमन्त्री भइरहन मिल्छ ? जे गरे पनि हुन्छ ? पेल्ने ? जवरजस्ती गर्ने ? जे गरे पनि हुने?’
उनले अगाडि भने, ‘न राष्ट्रपतिले काम चलाउ भन्नु छ। न आफूले प्रधानमन्त्रीबाट राजीनामा दिनु छ।’ आफू प्रधानमन्त्री नहुने अवस्थामा ओलीले लोकतन्त्र र संविधान नचाहिनेजस्तो गरेको उनले बताएका छन्।उनले ओली सरकार कामचलाउ भएको पनि बताएका छन्।
‘आफू प्रधानमन्त्री नभए पछि त्यो लोकतन्त्र चाहिँदैन, संविधान चाहिँदैन?,’ उनले भने ‘ यही हो केपीको कुरारु एउटा पदका लागि लोकतन्त्र हो? जिन्दगीभर पद दिन यो लोकतन्त्र ल्याएको हो?’
ओलीले पार्टी एकता पनि प्रधानमन्त्रीको पदका लागि गरेको श्रेष्ठको आरोप छ। ‘आफ्नो पद गुम्न थाल्यो भने पार्टी पनि चाहिएन भनेर पार्टी फूटाउन खोज्ने?,’ श्रेष्ठले प्रश्न गरे, ‘गुट बनाउन खोज्ने, गुटको भेला गर्ने? हैन यो के तरिका हो? यही हो ओलीको बाध्यता। लाज लाग्दैन, सरम लाग्दैन?’