संसद पुन:स्थापना भए देउवा प्रधानमन्त्री: बाबुराम भट्टराई



काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बावुराम भट्टराईले प्रतिनिधि पुनःस्थापना भए नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन्।

जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले प्रतिनिधिसभा पुनःस्थापना भए शेरबहादुर देउवा प्रधानमन्त्री हुने दाबी गरेका हुन्।

गोरखामा शुक्रबार पत्रकारसँगको कुराकानीमा प्रचण्ड र माधव नेपालले ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका खेलेकाले प्रधानमन्त्रीका लागि लायक नहुने उनको भनाइ छ।

पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले भने, ‘प्रचण्ड–माधवहरुको ओलीजस्तो भष्मासुरलाई हुर्काउन भूमिका छ, ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्छु भन्नुले स्वार्थ वा पदलोलुपता देखाउँछ। बाँकी काँग्रेस रहन्छ। त्यहाँ दाबेदार रामचन्द्रजी संसद् सदस्य हुनुहुन्न, स्वतः शेरबहादुरजी देख्छु।’

नेकपा विभाजनपछि जसपा तेस्रोबाट चौथो पार्टी हुने भएकाले सरकारको नेतृत्वमा दाबी नगर्ने उनले बताए। यस्तै उनले संसद पुनःस्थापना भए राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीलाई दण्डित गर्नुपर्नेमा जोड दिए।

‘अमेरिकाका राष्ट्रपतिलाई एक साता बाँकी हुँदा महाअभियोग लगाएर हटाइँदै छ, यत्रो अपराध गरेका ओलीलाई पनि दण्डित गर्नै पर्छ, राष्ट्रपतिलाई पनि दण्डित गर्नुपर्छ,’ उनले भने। प्रतिनिधिसभा ब्यूताउन जनताले निरन्तर आवाज उठाउनुपर्ने भन्दै राजनीतिक दलको संयुक्त आन्दोलन आवश्यक रहे भट्टराईको भनाइ छ।