काठमाडौँ। नेकपाका दुवै समूहको बिहीबार छुट्टाछुट्टै बैठक भएको छ । आफ्नो समूहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन केन्द्रित हुन निर्देशन दिएका छन् भने दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलन सशक्त बनाउने निर्णय गरेको छ ।
दाहाल र नेपाल समूहको बैठकले ओलीको असंवैधानिक कदमविरुद्धको आन्दोलन प्रभावकारी हुँदै गए पनि उपत्यकालगायत केही स्थानमा अझ सुधार गर्नुपर्ने निष्कर्ष निकालेको छ । उक्त समूहको स्थायी कमिटी बैठकमा प्रदेश इन्चार्जहरूले आन्दोलनको ब्रिफिङ गरेका थिए ।
उक्त ब्रिफिङमा मुलुकभर नै तल्लो तहसम्म आन्दोलन भइरहेको र लोकतान्त्रिक मूल्य मान्यताका पक्षधर सबै राजनीतिक शक्ति, पेसागत समूह र नागरिक समाज आन्दोलनको मोर्चामा आएकाले आन्दोलन प्रभावकारी बनेको उनीहरूको निष्कर्ष थयो ।
आन्दोलनका कार्यक्रमलाई अझै कसरी प्रभावकारी बनाउने भन्ने छलफल भएको दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए । प्रतिनिधिसभा विघटनविरुद्ध यो समूहले पुस १८ मा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । बैठकमा आन्दोलनका कार्यक्रमको समीक्षा भएको थियो । ‘उपत्यकाको आन्दोलनलाई अझै प्रभावकारी बनाउनुपर्नेबारे पनि छलफल भएको छ,’ स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले भने ।
नेकपाको यो समूहले राजधानीमा एउटा ठूलो आमसभा गरेको छ । त्यसबाहेक प्रदेश भेलाहरू गरिरहेको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले प्रतिवेदन पेस गरेको छ । गत पुस २० को बैठकले पार्टी एकीकरणसम्बन्धी बाँकी काम र नेताहरूको कार्यविभाजन टुंगो लगाउन अध्यक्ष नेपालको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलले खाली भएका संगठनहरूमा नेताहरूलाई नियुक्ति गर्ने सम्बन्धमा सुझाव दिएको छ ।
यसैबीच दाहाल–नेपाल समूहका नेकपा अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीबाट थप अनुशासनको कारबाही गर्नुपर्ने अवस्था आएको बताएका छन् । उनले बिहीबार राजधानीमा बृद्धिजीवी परिषद्को कार्यक्रममा यस्तो बताएका हुन् । ओलीले अनुशासन उल्लंघन गर्ने क्रम नरोकिएकाले थप कारबाहीको आवश्यकता परेको उनले उल्लेख गरे ।
नेकपाको दाहाल–नेपाल समूहले यसअघि ओलीलाई अध्यक्षबाट हटाएको घोषणासँगै संसदीय दलले संसदीय दलको नेताबाट हटाएको थियो । उक्त समूहले ओलीलाई पार्टीको सदस्यबाट भने हटाएको छैन । त्यसैले अबको कारबाही सदस्यताबाट हटाउनेसम्मको हुन सक्नेछ । दाहाल–नेपाल समूहको स्थायी कमिटीको बैठक शुक्रबार पनि बस्नेछ । त्यही बैठकमा ओलीलाई थप कारबाहीको सम्बन्धमा छलफल हुन सक्ने सम्भावना पनि छ ।
ओलीद्वारा निर्वाचनको वातावरण बनाउन निर्देशन
नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमा चुनाव हुने भएकाले त्यसअनुसारको चुनावी माहोल तयार गर्न पार्टीको गतिविधि व्यवस्थित ढंगबाट अघि बढाउन नेताहरूलाई निर्देशन दिएका छन् ।
आफ्नो समूहका स्थायी कमिटीका सदस्य र मन्त्रीहरूसँगको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले निर्वाचन केन्द्रित गतिविधि बढाउन आग्रह गरेका हुन् । उनले विभिन्न प्रदेशको जिम्मेवारी लिएका नेताहरूसँग त्यहाँ भइरहेका गतिविधिदेखि केन्द्रमा प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेको रिटमाथि अदालतमा भइरहेको प्रक्रियाबारे जिज्ञासा राखेका थिए । प्रदेशमा काम गर्ने नेताहरूले व्यापक रूपमा भेलाहरू भइरहेको र प्रतिनिधिसभा विघटनको पक्षमा जनमत सिर्जना गर्ने प्रयास अधिकतम रूपमा गरिरहेको बताएका छन् ।
बैठकमा नेता सुवास नेम्वाङले अदालतमा भइरहेको बहस संवैधानिक इजलास कि बृहत् पूर्ण इजलासमा काम गर्ने भन्नेमा छलफल भइरहेको भन्दै नेताहरूलाई ब्रिफिङ गरेका थिए । त्यस्तै दाहाल–नेपाल समूहले निर्वाचन रोक्न माग गर्दै निर्वाचन आयोगलाई आग्रह गरेको प्रसंगबारे पनि त्यहाँ कुरा उठेको थियो। यो समाचार कान्तिपुर दैनिकले प्रकाशित गरेको छ।