देउवा सवार हेलिकोप्टर गोरखामा अवतरण



काठमाडौँ। मौसममा खराबीका कारण पूर्व प्रधामनन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा चढेको हेलिकोप्टर एकाएक आकस्मिक अवतरण गरिएको छ।

पर्वतका लागि हिँडेको हेलिकप्टरलाई बिहीबार गोरखामा आकस्मिक अवतरण गराइएको हो। मौसम सुधार भएपछि हेलिकप्टर गन्तव्यतर्फ लागेको प्रहरीले जनाएको छ।

पर्वतको सदरमुकाम कुस्माका लागि उडेको देउवा सहितका नेताहरू चढेको हेलिकप्टर गोरखाको पालुङटार नगरपालिकाको हर्नी आँपपिपलको बारीमा अवतरण गराइएको प्रहरीले जनाएको छ। हेलिकप्टरमा सभापति देउवा, कांग्रेस नेता गोपालमान श्रेष्ठ र अर्जुनप्रसाद जोशी लगायत नेताहरू चढेका थिए।

आकस्मिक अवतरणको केहीबेरपछि सभापति देउवासहितको टोली गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। देउवा सहितका नेताहरू शहीद हरिदत्त तिवारीको स्मृति सभामा सहभागी हुन पर्वत गएका छन्।