‘राजनीतिक उपलब्धि जोगाउन बलिदान दिनुपर्ने हुन सक्छ’



काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्ने पूर्वानुमान गरेका छन्।

सोमबार संविधानसभा सदस्य मञ्च नेपालले काठमाडौँमा आयोजना गरेको ‘संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा भट्टराईले ‘अहिलेको संविधानको हत्या गरेर लोकतन्त्र जोगिँदैन। म त यसपछिको अवस्था झनै डरलाग्दो देखिरहेको छु। उपलब्धि जोगाउन फेरि लाखौंको बलिदानी गर्नुपर्ने अवस्था आउन सक्छ। अहिलेसम्मको उपलब्धि धरापमा परेको छ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले अहिलेको संविधान जनताले जन्माएको संविधान भएकाले यसलाई जोगाउनुपर्ने बताए। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले भने, ‘नेपाली जनताले पहिलो पटक बनाएको संविधान हो अहिलेको संविधान। यसअघिको संविधान राजा–महाराजाले बनाएका थिए। हामीले बच्चा त जन्मायौँ। हुर्काउने काम पनि हाम्रै हो।’

प्रधानमन्त्री ओलीले संविधानलाई मुर्छित बनाए । उनले भने, ‘ओलीले संविधानलाई मुर्छित बनाएका छन् । यसलाई बचाउने जिम्मा हाम्रो हो ।’ लोकतन्त्र नै चुनाव भन्ने बुझाइ गलत भएको उनको भनाइ छ ।

‘केहीले लोकतन्त्र नै चुनाव भन्ने अर्थमा लिएको बुझिन्छ । चुनावमात्रै लोकतन्त्र होइन। संसारभरका तानाशाहले आफ्ना गल्ती ढाकछोप गर्नका लागि चुनावको कुरा गर्छन् । तानाशाहहरुले यसरी नै लोकतन्त्रको हत्या गरेका छन् । प्रतिनिधिसभाको विघटन गरेका छन्। चुनावमा गएर लोकतन्त्र ट्रयाकमा आउँछ भनेर बुझ्नु गलत हुन्छ,’ उनले भने ।

अहिले संसद् विघटनमात्रै नभएर लोकतन्त्रकै विघटन भएको भट्टराईले बताए। उनले भने, ‘यो प्रतिनिधिसभा विघटनमात्र होइन। प्रकारान्तरले लोकतन्त्रकै विघटन हो। यो प्रतिगमनतर्फको यत्रा हो।’

इतिहासबाट मिल्काइनुपर्ने पात्रको हातमा सत्ता चलाउने जिम्मेवारी पुग्दा अहिलेको अवस्था आएको उनको बुझाइ छ। भट्टराईले, ‘क्रान्ति परिवर्तन भएको कालखण्डमा परिवर्तनकारीहरुले नै नेतृत्व पाउनुपर्ने हो तर त्यसो हुन सकेन। संविधानसभापछिको नेतृत्व गलत मानिसको हातमा गयो। अहिले पहिरो गइसकेको छ। अझै खतरापूर्ण हुने अवस्था देखिन्छ। ओलीले प्रतिसोध साँध्न चाहेका छन्।’

क्रान्ति पूरा नै गर्न नपाउँदा परिवर्तनलाई संस्थागत नै गर्न नसकिने अवस्था बनेको उनले बताए। भट्टराईले भने, ‘अब हामीले नयाँ हिसाबले अगाडि बढ्नु जरुरी छ। यस्तो भइराख्छ भनेर हामी चुप लागेर बस्यौं भने झनै असहज हुन्छ। अब जनतालाई सडकमा उतारेर अर्को जनआन्दोलन जरुरी छ।’

आफूले केपी ओलीको भस्मासुर प्रवृत्तिको पहिलेदेखि नै विरोध गर्दै आएको उनले बताए। उनले भने, यो फासीवादी प्रवृति, भष्मासुर प्रवृतिहो मैले भनेको भनै छु। आखिर त्यही त गयो ।’ केपी बाहेकका राजनीति शक्ति एक ठाउँमा नआएसम्म आन्दोलन सफल नहुने उनको भनाइ छ।

त्यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा मात्र नभइ संविधान नै विघटन गरिदिको बताएका छन्। अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘संविधानमा विघटनको व्यवस्था छैन भन्ने बुझेर पनि बल मिच्याई गरि प्रतिनिधिसभा विघटन गर्नुभएको छ। यो संविधानको विघटन हो।’ उनले यो संविधानले राम्रो व्यवस्था होइन, तानाशाह नै पो जन्माएको हो कि भन्ने आशंका आम रुपमा उठ्ने भन्दै यसको निरुपण हुनुपर्ने बताए।

ढुंगानाले न्यायालयले कमजोरी गर्न नहुने भन्दै न्यायालयमाथि नागरिकले प्रश्न उठाउने अवस्था नआओस् भन्ने कामना गरे। उनले भने, ‘अदालतको पनि जवाफदेहिता छ। सडकबाटै भोलि न्यायाधीश तान्ने दिने आउला। फिलिपिन्समा त्यस्तो भएको छ। बलिदानी प्रधानमन्त्री भएको देशमा ज्ञानी न्यायाधीश छन्। यदि अहिलेको कदम सच्चिएन भने संविधान खारेज हुन्छ।’ उनले नागरिक चनाखो हुनुपर्ने बेला आएको बताए। ‘एक दिनको मात्रै कदम होइन विघटन हुने कुरो। सांसद नै चनाखो हुनुपर्ने उनीहरुलाई केही थाहा भएनछ। प्रधानमन्त्री भलादमी छन् भनेर चुप लागेर बसेछन्। प्रतिनिधिसभाका हरेक सदस्य अहिलेको कदममा जिम्मेवार हुनुपर्ने हुन्छ।’

उनले राष्ट्रियसभाको अधिवेशन पनि नाटकीय रुपमा अन्त्य भएको टिप्पणी गरे। ‘हिजो नाटकीय हिसाबले राष्ट्रियसभाको अधिवेशन बन्द गरिदिनुभयो।’ अदालतले संसद विघटनको निर्णय बदर नगरेमा संविधान नै बदर गरेसरह हुने ढुंगानाको दावी छ। उनी भन्छन्– ‘संविधान हेर्ने हो भने ससंद पुनःस्थापना हुन्छ। अदालतले पुनःस्थापना नगर्ने हो भने संविधान नै खारेज गरिदिएपनि हुन्छ।’ यद्यपि प्रतिनिधिसभा ब्यूँतिए पनि राजनीतिक रुपमा अशक्त भइसकेकोले धेरै काम गर्न नसक्ने ढुंगानाको दावी छ। उनले अदालतबाट संसद पुनःस्थापना हुने विश्वास व्यक्त गर्दै अदालतबाट नभए सडकबाट पुनःस्थापना गर्नुपर्ने अवस्था आउनसक्ने बताए।

कार्यक्रममा पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य रहेकाहरूले हस्ताक्षर गरेर राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख अग्निप्रसाद सापकोटालाई बुझाउने कार्यक्रम रहेको संविधान सभा सदस्य मञ्चकी अध्यक्ष कल्पना धमलाले बताइन्।

संविधान सभा सदस्य मञ्च, नेपालले हस्ताक्षर अभियान सुरु गरेको हो । प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम भएको कुरामा सहमत हुनेहरुको हस्ताक्षर संकलन गरिने उनले बताइन् । ‘बहुमतप्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरूको विधायकी मनशाय होइन,’ उनले भनिन्, ‘त्यही भएर हामीले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

उनले प्रधानमन्त्री ओलीको कदमविरुद्ध हस्ताक्षर गर्न चाहने संविधानसभाका सदस्यहरूको स्वेच्छाले हस्ताक्षर गराइने बताइन्। अभियानमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत १८ जना संविधानसभाका सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्। प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।