काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले विशाल जनसभाको फोटो नछाप्ने तर विरोधीहरुले गरेको सामान्य विरोधलाई भने ‘हाइलाइट’ गरेर फोटो छापेको भन्दै सञ्चारमाध्यममाथि खनिएका छन्।
आइतबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै ओलीले सञ्चारमाध्यमहरुले आफुले गरेका कामको सञ्चारमाध्यमले प्रशंसा नगरेको भन्दै आक्रोश पोखेका हुन्। ‘विशाल जनसभाको फोटो छापिदैन, तर सरकार विरोधी जमात देखियो भने हाइलाइट गरेर समाचार र फोटो छापिन्छ,’ प्रम ओलीको भनाइ छ।
त्यसक्रममा उनले प्रचण्ड–माधव पक्षले कामै गर्न नदिएकाले संसद विघटन गर्नुपरेको पनि दोहोर्याए। प्रधानमन्त्री ओलीले प्रचण्ड माधव पक्षले प्रायोजित रुपमा सञ्चारमाध्यमहरु परिचालन गरेर सरकारको विरोध गर्न लगाएको टिप्पणी गरे। ‘प्रायोजित र अनेक लगानीका सञ्चारमाध्यम प्रयोग गरेको छ,’ ओलीको भनाइ छ।
ओलीले सञ्चारमाध्यममात्रै होइन बुद्धिजिवीहरुको पनि आलोचना गरे। उनले भने, ‘केही त्यस्तै खालका बुद्धिजिवीहरुको एउटा झुण्डलाई प्रयोग गरेको छ। र देशलाई अस्थिरता फैलाउने प्रयास भएको छ।’ उनले यस्तै अस्थिरता सिर्जना गर्ने प्रयासलाई रोक्न प्रतिनिधि सभा विघटन गरेर रोकेको दाबी गरे।
उनले ताजा जनादेशमा गएर देशलाई स्थिरता र लोकतातन्त्रिक विधि पद्धतिलाई अगाडि बढाउने प्रयासस्वरुप संसद विघटन गर्नुपरेको बताए। उनले कतिपयले आफ्नो कदमलाई गैरजिम्मेवार भन्ने गरेको भन्दै गैरजिम्मेवारको अर्थको शब्द पल्टाएर हेर्न सुझाव दिए।