प्रधानमन्त्री सल्लाहकारले दिए मिश्रलाई धम्की



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमालले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई सीमामा बस्न भनेका छन्।

सामाजिक सञ्जाल ट्वीटरमा मिश्रले गरेको ट्वीटमा कमेन्ट गर्दै रिमालले धम्कीपूर्ण भाषा प्रयोग गरेका हुन्। शनिबार साँझ मिश्रले समसामयिक राजनीतिक घटनाक्रमबारे ट्वीट गरेका थिए। उनले लेखेका थिए, ‘कस्तो समय आयो?’  पूर्वप्रधानन्यायाधीशहरूले विचाराधीन मुद्दामा बोल्नु पर्ने। प्रधानमन्त्रीरराष्ट्रपतिले संविधान खुल्लमखुल्ला कुल्चिने। काण्डैकाण्ड गर्ने प्रधानमन्त्रीको भाषण सुन्न हजारौं जम्मा हुने। महाभ्रष्ट नेताले भ्रष्टाचार विरुद्ध र्‍याली आह्वान गर्दा हजारौं सरिक हुने। अब अति भो।

मिश्रको यो ट्विटमा कमेन्ट गर्दै प्रधानमन्त्रीका सल्लाहकार रिमालले लेखेका छन् सीमामा बस्नुस् रवीन्द्र जी तपाईंको यो ट्वीट टिप्पणी गर्न पनि उपयुक्त छैन। यतिचाहिँ भनूँ, मर्यादा नाघ्ने जोसुकै जतिसुकै सेलिब्रिटी भए पनि त्यससँग समयले जवाफ माग्ने छ। सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रधानमन्त्रीका सल्लाहकार रिमालको ट्विट धम्कीपूर्ण भएको बताएका छन्।

मिश्रले रिमालको ट्वीट कोट गर्दै जवाफ लेखेका छन् (प्रिय रिमालजी, देशको प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले आमरूपमा र देशका विशिष्ट व्यक्तित्वहरूले गरिरहेको टिप्पणीलाई नै दोहोर्‍याउँदा ुसीमामा बस्नुस्ु भनेर धम्कीपूर्ण भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन थियो। विमति जनाउनुभएको भए भइहाल्थ्यो। सानो सुझावमात्र।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपाभित्रका दुई समूह एक-अर्काविरूद्ध आरोप-प्रत्यारोपमा उत्रिएका छन्। प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधि सभा विघटन गरेको भन्दै उक्त कदमको आलोचना भइरहेको छ। प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ।

चार जना पूर्वप्रधानन्यायाधीशहरूले शुक्रबार विज्ञप्ति निकालेर संसद विघटन असंवैधानिक भएको बताएका थिए। शनिबार प्रधानमन्त्री ओलीले चार पूर्वप्रधानन्यायाधीशले अदालतलाई धम्क्याएको बताएका थिए।