काठमाडौँ। नेकपा प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध तय भएको आन्दोलनअन्तर्गत आगामी माग २३ गते काठमाडौंमा १ लाख मानिस उतार्ने बताएको छ।
सो पक्षका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै सो विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन्। त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिए।
शनिबार नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले संसद विघटन सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण समेत भएको बताए। ‘यो संसद विघटनमा मात्रै सिमित नरहन सक्छ। सिंगो राजनीतिक प्रणालीमाथिको आक्रमण र परिवर्तनमाथिको आक्रमण हो’, श्रेष्ठको भनाइ छ।
उनले यो प्रधानमन्त्री केपी ओलीको यो कदमले समग्रतामा प्रतिगमनलाई अघि बढाउन ढोका खोल्ने खतरा रहेको पनि बताए। ‘त्यसकारणले हामीले प्रतिगामी कदम मुर्दावाद पनि भनेका छौ’ संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाइ छ।
सर्वोच्च अदालतलाई शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अधिकार दिएको भन्दै सर्वोच्च अदालतले केही गर्ला भनेर भन्न नपर्ने भन्दै संविधान विपरित गएर निर्णय भएमा त्यसवेला संविधानको कुनैपनि धारा काम नलाग्ने बताए। तर उनले जनताको खवरदारी आवश्यक रहेको भन्दै संसद विघटनको निर्णय खारेज भएर प्रतिनिधि सभा सुचारु नभएसम्म संघर्ष नरोकिने बताए।