‘झुट, अहंकार र घमण्डको दोश्रो नाम केपी ओली हो’



सिरहा। नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड(माधव समूहका अध्यक्ष माधकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुर्योधनको संज्ञा दिएका छन्।

शनिबार सिरहाको बस्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीको कारण नेकपा र देशको यस्तो अवस्था आएको बताए।

रातोपाटीका अनुसार जय गोविन्द साहको ३१औँ स्मृतिसभामा अध्यक्ष नेपालले ओलीलाई आफूहरुले सुधार्नको लागि अन्तिमसम्म प्रयास गर्दा पनि आफूहरुले सुधार्न नसकेको बताए।

उनले ओली दुर्योधन जस्तै रहेको बताउँदै उनले भने, युधिष्ठिर भएपछि धर्मको शासन हुन्छ, तर दुर्योधनको शासन भएपछि पुरा वशंकै नाश हुन्छ । केपी ओलीमा भस्मासुर प्रवृति हो, कहिले कसलाई भस्म गर्ने हो, थाहा छैन्। ओली पुँजीवादीको बाटोमा हिडेर समाजवाद आउछु भन्नू बेतुकको गफ रहेको भन्दै उनले ओली कम्युनिष्ट आन्दोलन बिर्सिकेको बताए।

उनले अघि थप्दै भने, डोनाल्ड ट्रम्प चुनाव हारेपछि सत्ता कब्जा गर्न खोजेपछि उनीमाथि महाअभियोग लाग्ने भयो। त्यस्तै ओलीले संसद विघटन गरेका छन्। संसद विघटन गरेपछि उनी कामचलाउ सरकार नै हो। कुन दिन उनी झर्छन कसैलाई थाहा छैन।

असंवैधानिक कदम चालेर प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई संकटमा धकेलेको भन्दै उनले ओली झुट, अहंकार र घमण्डको दोश्रो नाम रहेको बताए। ओली पार्टीको नेता हुने लायक नरहेको समेत दावी गरे।