‘ओलीले निर्वाचन गराएनन् भने सडकबाटै हटाउन बाध्य हुनेछौं’



काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बैशाखमा निर्वाचन नगराए प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडकबाटै हटाउने चेतावनी दिएका छन्।

नेपाली कांग्रेस काठमाडौं क्षेत्र न ५ (ख) द्वारा आयोजित विरोध सभामा सभापति देउवाले अदालतले मध्यावधिमा जाने ओलीको कदमलाई सदर गरे काँग्रेस चुनावमा जाने बताए।

उनले भने, ‘सर्वोच्चभन्दा ठूलो अदालत जनता हो, जनतामा जाँदा के बिग्रन्छ?’ तर अदालतले संसद विघटनलाई सदर गरेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव गराउँछन् भन्नेमा धेरैलाई शंका रहेको देउवाको भनाइ थियो।

तर प्रधानमन्त्री ओलीले धनगढीमा गएर निर्वाचन गराउँछु भनेकाले आश गर्नुपर्ने देउवाले बताए। ‘धनगढीमा पुगेर शुक्रबार मात्र ओलीले चुनाव गराउँछु भन्नुभएको छ। अदालतले चुनाव गराउने निर्णय गर्‍यो भने सबैले भाग लिन्छन्, प्रचण्डजीहरुले पनि भाग लिन्छन्।’

रातोपाटीका अनुसार ओलीले चुनाव गराएनन् भने सबै मिलेर सडकबाटै फाल्ने देउवाकाी चेतावनी थियो। उनले भने, ‘ओलीले निर्वाचन गराएनन् भने सबै नेपाली एक भएर सडकबाटै हटाउन बाध्य हुनेछौं। त्यसबेला उनलाई देशमा बस्न नै गाह्रो हुनेछ।’

तर ओली आफैं चुनाव प्रचारमा गइसकेकाले ढिलो चाँडो चुनाव हुने उनले विश्वास व्यक्त गरे। ‘मलाई विश्वास छ, प्रधानमन्त्री ओलीले चुनाव गराउनु हुनेछ,’ देउवाले भने, ‘प्रधानमन्त्री चै चुनाव प्रचारमा जाने अनि हामी चै चुप बस्ने भनेर हुँदैन। चुनाव भए चुनावमा जाने नभए भोलि आन्दोलनमा जानका लागि काम गर्ने हो।’

संसद विघटन संविधान विरोधी कदम भए पनि मुद्दा अदालतमा विचाराधीन रहेकाले जुलुस निकालेर यो गर, उ गर भन्न नहुने देउवाको भनाइ थियो। उनले भने, ‘हामीले अदालतको निर्णय पर्खिनुपर्छ। अदालतको निर्णय काँग्रेसले मान्छ।’