ओलीले संविधानमाथि भ्वाँङ पारे: झलनाथ खनाल



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले संसद पुनःस्थापना भएरै छोड्ने दाबी गरेका छन्।

बोष्टर मिडियाको सातौ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा बोल्दै नेता खनालले गलत नजिर बस्ने भएकाले संविधान विघटन बदर हुने विश्वास व्यक्त गरेका हुन्। उनले भने, ‘हाम्रो संविधान विश्वका कुनै पनि देशको भन्दा भिन्न हो। अरु संसदीय व्यवस्थाभन्दा फरक हो। हाम्रो संविधानले सनक चढेकै भरमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने व्यवस्था गरेको छैन।’

उनले अगाडि भने, ‘प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन। बरु संविधानको रक्षाका लागि प्रधानमन्त्री र राष्ट्रपतिलाई जिम्मेवारी दिएको छ। ओलीले संविधानमै नभएको अधिकार प्रयोग गरे। संसद विघटन लोकतन्त्र र पाँच वर्षका लागि प्राप्त गरेको जनादेशको विरुद्द छ। ओलीले संविधानमा भ्वाँङ पार्ने काम गरे। भोलिका जो सुकै प्रधानमन्त्रीले सनक चडेको बेला संविधान विघटन गर्छ। यो गलत नजिर बस्छ। त्यसैले यसलाई रोक्नुपर्छ।’

नेता खनालले विद्यमान संविधानकाे रक्षा गर्नु लोकतान्त्रिक शक्तिहरुको सरोकार विषय भएको बताए। उनले भने, ‘यो संविधानसङ्ग हाम्रो भाग्य र भविष्य जोडिएको छ। अस्थिरताका कारण हामीले धेरै वर्षहरु अर्बौ रुपैयाको नोक्सानी गरिसकेका छौं। त्यसैले पनि विद्यमान संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार छैन। यो संसद पुनःस्थापना आवश्यक छ/हुन्छ। याे लोकतान्त्रिक शक्तिहरुको सरोकार विषय पनि हाे। यसलाई जनताले रोक्नुपर्छ।’’

अस्थिरताका कारण पर्यटनको विकास हुन नसकेको स्वीकार गरेका खनालले विश्वकै आकर्षक देशका रुपमा नेपाल रहेको दाबी गरे। उनले भने, ‘हिमालका टाकुरा, सदाबहादर बग्ने ६ हजार नदिनाला, सुन्दर पहाडी श्रीखला, पाँच हजार वर्ष पूरानो इतिहास, ऋषिमुनिको देश हाम्रै हो। सबैभन्दा ठूलो बजार भएको देश चीन र भारत वरिपरी छन्। जलश्रोत, पर्यटनका धेरै सम्भावना छन्। पर्यटनको विकासगर्न स्थितिरता चाहिन्छ।’

राजधानीको प्रदर्शनिमार्गस्थित पर्यटन विभागमा सम्पन्न कार्यक्रममा पूर्व मन्त्रीहरु लालबाबु पण्डित, शेरबहादुर तामाङ, सांसद कल्पना नेपालीलगायतले आफ्ना कुराहरु राखेका थिए।