सेक्स टेप प्रकरणमा बेन्जेमा अदालतमा तानिँदै



एजेन्सी। माथेयु भालबुएना सेक्स टेप प्रकरणमा रियल म्याड्रिडका स्टार करिम बेन्जेमाले अदालतमा मुद्दा खेप्नुपर्ने भएको छ । बेन्जेमामाथि पाँच वर्षअघि फ्रान्सका समकक्षी भाल्बुएनाको सेक्स टेप लिएर ब्ल्याकमेलिङ गर्दै पैसा असुल्न खोजेको आरोप छ।

एएफपीका अनुसार बेन्जेमालाई भर्साइल्सका प्रासिक्युटर अफिसले उनको मुद्दा अदालतमा लगिने जानकारी दिएका छन्। यद्यपि, कुन मितिमा भने खुलाइएको छैन।

यसबारे समाचार प्रकाशित भएपछि बेन्जेमाका वकिलले ब्ल्याकमेलिङको आरोप लगाएर आफ्नो क्लाइन्टमाथि षडयनत्र भइरहेको दाबी गरे। ईएफई न्युज एजेन्सीसँग कुरा गर्दै उनले भने, ‘उनीविरुद्ध मुद्दा चालउने निर्णय अनुचित छ। यस मुद्दामा बेन्जेमाले लाज मान्नुपर्ने केही कुरा छैन ।’ भाल्बुएनाका वकिल पाउल अल्बर्ट इविन्सले भने यो मुद्दा जायज भएको जिकिर गरे।

उता, बेन्जेमाले पनि पटक–पटक यस विषयमा स्पष्टिकरण दिँदै आएका छन्। उनले भाल्बुएनाले आफूलाई यस मुद्दामा जबरजस्ती तानेको आरोप लगाएका छन्।

बेन्जेमाले यस प्रकरणमा आफू निर्दोष रहेको बताए पनि यही प्रकरणका कारण उनलाई फ्रान्सको अन्तर्राष्ट्रिय फुटबल टोलीमा समावेश गर्न छाडिएको छ। रियल म्याड्रिडमा उत्कृष्ट प्रदर्शन जारी राखे पनि ३३ वर्षीय खेलाडीले फ्रान्सका लागि सन् २०१५ को नोभेम्बर यता कुनै पनि खेल खेलेका छैनन्। त्यसअघि उनले फ्रान्सका लागि ८१ खेल खेलेका थिए।

यता रियलका लागि बेन्जेमाले ५३३ खेलमा २६१ गोल गरिसकेका छन्। रोनाल्डोले स्यान्टियागो बर्नेबाउ छाडेपछि बेन्जेमाले सन् २०१९–२० सिजनमा रियललाई ला लिगा उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।