‘प्रतिनिधिसभा पुन:स्थापना हुन्छ’  



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपालका समूहका नेता एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले निर्वाचित प्रतिनिधिको थलो प्रतिनिधिसभा पुनःस्थापना हुने विश्वासमा आफूहरु रहेको बताएका छन्।

नेकपा निकट जनवर्गीय सङ्गठनको जिल्लास्तरीय भेलालाई आज पोखरामा सम्बोधन गर्दै उनले सम्मानित सर्वोच्च अदालतले विघटित संसद् पुनःस्थापना गर्ने बताए।

उनले भने, “पूर्वप्रधानान्याधीस, बारका पूर्वअध्यक्षहरु, कानून व्यवसायीलगायत सबै प्रधानमन्त्रीको कदमको विपक्षमा हुनुहुन्छ। यसका बारेमा अदालतमा सुनुवाइ चलिरहेको छ, हामीलाई विश्वास छ अदालतले संसद् पुनःस्थापना गर्नेछ ।” नेता भट्टराईले प्रचण्ड–माधव नेपाल अध्यक्ष रहेको नेकपा नै आधिकारिक पार्टी रहेकाले सूर्य चुनाव चिह्न पनि यही पार्टीको हुने दावी गरे।

नेकपा स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले प्रधामन्त्रीले अन्तै बाटो लिएपछि आफ्नो पार्टी जनताको परिर्वतन र समृद्धिका लागि नयाँ सङ्कल्पसहित जनतामाझ आएको बताए।

उनले भने, “हामीले सुशासन र समृद्धि भनेका थियौँ, स्थायित्वका साथ समाजवादको यात्रामा अघि बढेका थियौँ तर अहिले बाध्यताबस नयाँ बाटो हिँड्न बाध्य छौँ। जनताको सपना पूरा गर्न निरन्तर लागि रहन्छौँ।” नेता पौडेलले प्रधानमन्त्रीलाई काम गर्न पार्टीमा कुनै अवरोध र घेराबन्दी नभएको दाबी गरे।