मृत्युदण्ड कुरिरहेकी जो आमाबाटै बेचबिखन, सौतेनी बाबुबाट बलात्कृत


काठमाडौँ। लिसा मोन्टगोमेरीले अप्रत्यक्ष रूपमा तीन वर्षको उमेरमै यौन शोषणको पीडाको पहिलो अनुभव गरिन्। आफ्नी दिदी डियानासँगै सुत्ने तर्खरमा रहेका बेला आठ वर्षीया डियानालाई उनको रेखदेखमा खटिएका पुरुषले बलात्कार गरे।

आफूमाथिको आक्रमण कस्तो हुन्छ भनेर ११ वर्षको उमेरमा मोन्टगोमेरीलाई थाहा भयो। सौतेनी बाबु ज्याक, जो जँड्याहा थिए र नियमित रूपमा उनी र उनकी आमालाई कुट्थे । ती पुरुषले सातामा दुुई पटक बलात्कार गर्न थाले। यसपछिका चार वर्ष ज्याकको जीवनमा यस्तो शोषण कति महत्त्वपूर्ण बन्यो भने उनले ओक्लोहामा उड्सस्थित आफ्नो ट्रेलर नजिकै किशोरीका लागि छुट्टै कोठा बनाए। यसको आफ्नै प्रवेशद्वार थियो, जसकारण उनी चाहेकोे बेला आउन र जान सक्थे र कसैले पनि किशोरीको चिच्याहट सुन्ने थिएन।

उनले बलात्कार गर्थे र यातना दिन्थे। प्रायजसो घाँटी र अनुहारमा तकिया च्यापिदिएर सास फेर्न कठिन अवस्थामा पुु¥याउँथे । जब मोन्टगोमेरीले प्रतिरोध गरिन् तब सौतेनी बाबुले झापड हानेर टाउकोलाई भुइँमा कठोरसँग बजार्दा उनलाई ‘ट्रमाटिक ब्रेन इन्जुरी’ (मस्तिस्कसँग सम्बन्धित समस्या) भयो। एमआरआई ब्रेन स्क्यानले भविष्यमा यो समस्या देखाउनेवाला थियो।

एक दिन आफ्ना पतिले छोरीलाई शोषण गरिरहेका बेला आमा जुडी कोठाभित्र छिरिन्। जुडी कति आक्रोशित भइन् भने बन्दुक उठाएर आफ्नी छोरीको टाउकोमा राखिन् र चिच्याउँदै भनिन्, ‘तैँले ममाथि यस्तो कसरी गर्नसक्छेस्?’ समयसँगै शोषण बढ्दै गयो । मोन्टगोमेरीका सौतेनी बाबुले आफ्ना साथीहरु बोलाएर सामूहिक बलात्कार गर्न थाले । यातना घण्टौँसम्म चल्थ्यो र अन्त्यमा फोहोरको डिब्बा जस्तो सम्झेर उनको शरीरमा ती पुरुषहरु पिसाब फेर्थे। यस्तो दानवी काममा उनकी आमा आफैँ पनि जुटिन्। उनलाई अनौठा काम गर्न मन लागेका बेला छोरीको शरीर प्लम्बर र इलेक्ट्रिसियनलाई बेच्थिन्। यो लिसा मोन्टगोमेरीको कथा हो।

यी त्यस्ता अनुभवहरु हुन् जसलाई डाक्टर, मनोविद् र सामाजिक कार्यकर्ताले ‘वर्षौंदेखि सहेको यातना’ भन्ने निष्कर्ष दिएका छन् । ५२ वर्षकी मोन्टगोमरी तिनै महिला हुन् जसलाई डोनाल्ड ट्रम्प प्रशासनले ७ दिनभित्र मृत्युदण्ड दिने मनसाय राखेको छ। उनी निकै क्रुर हत्यारा भएकाले आजीवन जेल सजाय पनि उनका लागि अपर्याप्त हुन्छ भन्ने प्रशासनको ठहर छ। शुक्रबार अमेरिकी पुनरावेदन अदालतले उनको मृत्युदण्डका लागि बाटो खुला गरिदिएको छ। मोन्टगोमेरीले जघन्य अपराध गरेको भन्दै अमेरिकी न्यायिक विभागले मृत्युदण्डको फैसलाको यसअघि नै समर्थन गरेको थियो। तर आपराधिक गतिविधि पछाडि लुकेको मोन्टगोमेरीको यातनापूर्ण जीवनलाई नजिकबाट नियाल्नेहरु यसलाई अलग रूपमा हेर्छन्।

‘यो ती महिलाको कथा हो जो जीवनभरको यातना र यौन शोषणका कारण गहिरो मानसिक रोगबाट ग्रस्त छिन्,’ मोन्टगोमेरीको कानुनी टोलीका परामर्शदाता तथा विश्वव्यापी मृत्युदण्डबारे कोर्नेल सेन्टरका विधागत निर्देशक सान्द्रा बावकले भने, ‘लिसा खराबमध्येकी खराब होइनन् । उनी विक्षिप्तमध्येकी विक्षिप्त हुन्।’ लेन्थल इन्जेक्सन (सुर्ई) लगाएर इन्डियाना, टेर्रे होटस्थित मृत्यु कक्षमा १२ जनवरीमा मोन्टगोमेरीलाई मारियो भने अमेरिकामा झन्डै ७० वर्षमा महिलालाई मृत्युदण्ड दिइएको यो पहिलो घटना हुनेछ । उनी बहिर्गमनमा पर्न लागेका राष्ट्रपतिबाट मारिने शताब्दीयताकै पहिला बन्दीहरुमध्ये पनि एक बन्नेछिन्। ट्रम्पले ह्वाइट हाउसमा आफ्नो समयको क्लाइमेक्सलाई दर्दनाक बनाउन चार दिनभित्र तीन बन्दीलाई मृत्युदण्ड दिने हतारो गरिरहेका छन्।

मोन्टगोमेरीको अपराध त्रासदपूर्ण थियो भन्नेमा केही पनि असहमत हुनेछैन। यसको विस्तृतबारे पुनर्विचार गर्न गाह्रो छ । १६ डिसेम्बर २००४ मा ३६ वर्षको उमेरमा उनी आफ्नो कान्सासस्थित घरबाट बबी जो स्टिन्नेटलाई भेट्न मिसौरी राज्यको सानो बस्ती स्किडमोर पुगेकी थिइन्। कुकुरप्रति दुवैको साझा प्रेमका कारण अनलाइनमा उनीहरुको भेट र चिनाजान भएको थियो । डग ब्रिडर ‘कुकुरलाई प्रजनन गराएर बच्चा बेच्ने’ स्टिन्नेट यतिबेला आठ महिनाकी गर्भवती थिइन्। त्यो उनको पहिलो गर्भ थियो। सायद, कुुकुरको बच्चा किन्नका लागि मोन्टगोमेरी उनलाई भेट्न गएकी थिइन् । तर जब घरभित्र छिरिन् तब एक्कासि स्टिन्नेटमाथि आक्रमण गर्न थालिन्। त्यसपछि डोरीले घाँटी बाँधेर हत्या गरिन् ।

त्यसपछि उनले भान्सा भएको चक्कुले स्टिन्नेटको गर्भ काटिन् अनि केही घण्टासम्म नवजात शिशु आफ्नै बच्चा भएजस्तो देखाउने प्रयास गरिन् । स्टिन्नेटको शव पत्ता लागेको भोलिपल्टै मोन्टगोमेरी पक्राउ परिन्। शिशुलाई परिवारको जिम्मा लगाइयो र बाबुले हुर्काए । राष्ट्रपति ट्रम्प, जसले घटनाको १७ वर्षपछि मृत्युदण्डको आदेश अघि बढाउँदैछन्। उनीसहितका केही अमेरिकीहरुका हकमा लिसा मोन्टगोमेरी प्रकरण यहीँ सकिन्छ ।

उनले दर्दनाक हत्याकाण्ड निम्त्याइन् । अब त्यसबापतको पूरा सजाय उनले सामना गर्ने समय आएको छ । तर मोन्टगोमेरीको अपराधमा ‘माफी दिन होइन, पर्याप्त बुझाउन वर्षौंसम्म छानबिन गरिरहेका वकिल र विज्ञहरुका अनुसार यी महिलाको दर्दनाक कार्यबारेको सनसनीपूर्ण हेडलाइन्स केवल यात्राको सुरुवात हो ।

‘हामीले के बुझ्न जरुरी छ भने कोही मानिस आफ्नो त्यस्तो कदमबाट कसरी गहिरोसँग डिस्कनेक्टेड हुनसक्छ, जुन कदम सामान्य स्वस्थ व्यक्तिका लागि अकल्पनीय हुन्छ,’ यातनाको शिकार भएर बाँचेकाहरुको उपचारमा संलग्न बाल मनोविद् क्याथरिन पोर्टरफिल्डले भनिन् । सन् २०१६ मा सुनुवाइ प्रक्रिया चलिरहेका बेला १८ दिनको अवधिमा उनले धेरै घण्टा मोन्टगोमेरीसँग बिताएकी थिइन् । ‘जब तपाईं मानसिक रोग, बाल्यकालको ठूलो यातना र त्यसले बालबालिकालाई के गर्छ भन्नेबारे ध्यान दिनुहुन्छ तब झन्डै बुझ्नका लागि असम्भव जस्तो लाग्ने कुरा पनि तर्कसङ्गत लाग्छ,’ उनले भनिन् ।

आफ्नो सुनुवाइका दौरान मोन्टगोमेरीले आफ्नो रक्षार्थ पर्याप्त कानुनी सहयोग पाइनन् । यो सन् २००७ को कुरा थियो जतिबेला उनलाई हत्या र अपहरणका लागि दोषी ठहर गरिसकिएको थियो र मृत्युदण्ड दिने वा नदिने भन्ने टुङ्गो लाग्न बाँकी थियो । २००७ को सुनुवाइमा मोन्टगोमेरीको प्रतिनिधित्व त्यस्ता अधिवक्ताले गरेका थिए, जोसँग मृत्युदण्डबारेको मुद्दा हेरेको अनुभव थिएन । त्यसपछि कान्सास सहरका अधिवक्ता फ्रेड डुचहार्डले यो मुद्दा हेरे । डुचहार्ड त्यस्ता वकिल हुन् जसले आफ्ना ग्राहकलाई मृत्युको मुखमा धकेल्ने मामिलामा डिस्टिङ्टसन नै पाएका छन् । उनले मिसौरी राज्यका ७ जनाको पक्षमा बहस गर्दा ४ जनाले मृत्युदण्डको सजाय पाए, त्यो सौभाग्य थियो वा उनीहरुको दुग्भार्य ।

सुनुवाइका क्रममा मोन्टगोमेरीका वकिलहरु उनको रक्षार्थ निकै कमजोर पेस भए । डुचहार्डले अनौठो कानुनी तर्क अघि सारेका थिए– सिडोसैइसेस नामक दुर्लभ मानसिक रोगबाट ग्रस्त भएकाले स्टिन्नेटको बच्चा आफ्नै हो भन्ने डिल्युजन ९दुविधा० मोन्टगोमेरीमा निम्तियो ।

उनको तर्क तथ्यसँग मिलेन । मान्टगोमेरी दोषी ठहर भइसकेको अवस्था थियो । मृत्युदण्डबारेको सुनुवाइमा आफू समक्ष आएका सीमित मात्रै तर्क र प्रमाणहरुबाट न्यायाधीशहरु सन्तुष्ट हुन सकेनन् । मान्टगोमेरीका वकिलहरुले शारीरिक शोषणका केही प्रमाण पेस गरेका थिए, बयानका क्रममा केही असन्तुष्ट व्यक्ति र साक्षीहरु पनि बोलाइयो ।

अन्ततः २६ अक्टुबर २००७ मा मोन्टगोमेरीमाथि मृत्यदण्डको फैसला आयो । एक वर्षपछि पुनरावेदनका क्रममा बल्ल नयाँ अभिवक्ताको टोलीले मोन्टगोमेरीको प्रतिनिधित्व गरे । उनले बाल्यकालमा बेहोरेको हदैसम्मको शारीरिक शोषण र यातना यर्थाथ रूपमा बाहिरिन थाल्यो ।

आफ्नो अनुसन्धानका क्रममा कानुनी टोलीले मोन्टगोमेरीको परीक्षण गर्नका लागि धेरै विज्ञहरू खटायो अनि उनका कथा एकत्रित ग¥यो । क्लिनिकल सामाजिक कार्यकर्ता जेनेट भोगेल्सेङले २०१६ मा मोन्टगोमेरीसँग धेरै दिनसम्म लामो कुराकानी गरिन् । धेरै घण्टासम्म कुराकानी गरेर मोन्टगोमेरीको विश्वास जित्दै उनको बाल्यकालका चोटबारे जानकारी हासिल गरेपछि भोगेल्सेङले ‘डेजा भु’ सेसन सुरु गरिन् । यस्तै सेसन उनले युद्धमा चोट बेहोरेका सैनिकहरुसँग गर्ने गरेकी थिइन् । ‘लिसासँग कुराकानी गर्नु भनेको भियतनाम युद्ध वा कोरियाली युद्धका त्यस्ता अवकाश प्राप्त सैनिकसँग कुराकानी गर्नुजस्तै थियो, जो कुनै समय दुलो वा बाँसको खोरमा अति दर्दनामक अवस्थामा बन्दी बनेका थिए,’ भोगेल्सेङले गार्डियनसँग भनिन् ।

आफ्नो अनुसन्धानको अन्त्यपछि भोगेल्सेङले मोन्टगोमेरीको सामाजिक इतिहाससहितको १ सय ८४ पृष्ठ लामो प्रतिवेदन बनाइन् । उनले रेकर्ड गरेका धेरैजसो सामग्री कहिल्यै न्यायाधीश समक्ष पेस गरिएन ।

यसमा शारीरिक शोषण र सामूहिक बलात्कार, बेचबिखन र हिंसा समावेश थियो । तर त्यो सबै केवल सुरुवात थियो । त्यहाँ नियमित विध्वंश, हिंसा र लाज पनि थियो । सानो उमेरदेखि नै मोन्टगोमेरीकी आमाले बोल्नबाट रोक्न उनको मुखमा टेप लगाइदिन्थिन् । रक्सीले मातेका मानिससामु उनलाई बरान्डामा नाङ्गै उभ्याइन्थ्यो र ‘सानो आवाज मात्रै आए पनि घर फर्काइदिन्छु’ भनेर धम्की दिइन्थ्यो ।

आफ्नी सानी बहिनीलाई रगत नआएसम्म चिर्पटले हिर्काउनका लागि सौतेनी बाबु र आमाले उनलाई बाध्य पारेथे । त्यसपछि टे«लर छेउको कोठामा सौतेनी बाबुले शारीरिक मात्रै होइन गहिरो मानसिक शोषण पनि गर्थे । ‘त्यस कोठरीमा उनले प्वाल पारेका थिए । मान्टेगोमेरी स्कुलबाट फर्किएपछि उनी त्यही प्वालबाट भित्र जानसक्थे,’ भोगेल्सेङले स्मरण गरिन्, ‘निगरानीका लागि सौतेनी बाबु सधैँ कोठरीमा बस्थे । त्यहाँ एउटा त्यस्तो सानो हिस्सा थियो, जहाँ खडा हुँदा उनलाई कसैले देख्न सक्दैन थिए– सौतेनी बाबुको आँखा छल्नका लागि उनी घण्टौँसम्म त्यस हिस्सामा बस्थिन् ।’

भोगेल्सेङ प्रतिवेदनको निष्कर्षअनुसार मोन्टगोमेरीले त्यो सानो कोठामा त्यस्तै यातना बेहोरेकी थिइन्, जस्तो यातना बालक सेना र युद्धका बन्दीहरुले बेहोर्छन् । ‘उनी एक्ली थिइन्, ब्रेनवास गरिएको थियो । सताइएको र बेइज्जत गरिएको थियो । बोल्ने छुट थिएन र मन लागेका बेला उनीहरुले कुट्थे ।’

पोर्टरफिल्डका अनुसार वान–टु–वान सेसनका क्रममा ट्रमा र मानसिक रोगको लक्षण मोन्टगोमेरीमा चाँडै देखिएको थियो, ‘जब म उनलाई भेट्थेँ । तब उनलाई केही थाहा हुँदैन थियो, उनी अनौठो मान्थिन्,’ पोर्टरफिल्ड भन्छिन्, ‘उनी आफ्नो विचार राख्न समर्थ थिइनन् र आफ्नो यथार्थ बताउने क्रममा अनौठो तरिकाले सोच्थिन् । उनी डिसएसोसिएसनको अवस्थामा बाँच्छिन् । जब मैले उनको बाल्यकालबारे सोधेको थिएँ तब आफ्नो भावनासँग जोडिने अक्षमता उनमा देखिन्थ्यो । आफैँलाई तेस्रो व्यक्तिका रूपमा प्रस्तुत गरेर अनुहारमा कुनै हाउभाउ नदेखाई उनले रित्तो आवाजमा आफ्नो कथा सुनाइकी थिइन् ।’

पोर्टरफिल्ड र भोगेल्सेङ मोन्टगोमेरीको पहिचान गर्ने सवालमा एक छन् । ‘त्यहाँ कुनै प्रश्न नै छैन,’ पोर्टरफिल्डले भने, ‘मोन्टगोमेरी गहिरो मानसिक रोगी हुन् । उनीसँग धेरै कमजोरीहरु छन् ।’ मोन्टगोमेरीले जेलमै गम्भीर मानसिक हेरचाह पाएपछि परीक्षण गर्दा बाइपोलार डिअर्डर, पीटीएसडी, एन्जाइटी, डिप्रेसन, साइकोसिस, मुड स्विङ्स, डिसएसोसिएसन र मेमोरी लस समस्या देखिएको छ ।

उनको बाल्यकाल र सुरुवाती वयस्क कालबारेको अध्ययनले उनी पहिल्यैदेखि (अपराध गर्नुअघि नै) यस्ता समस्याबाट ग्रस्त रहेको सङ्केत गर्छ। हत्या गर्नुअघि नै उनले आफू वरपर रहेका केही व्यक्तिहरुलाई आफू गर्भवती भएको बताएकी थिइन्, यो दाबी बिलकुल गलत र भ्रमणपूर्ण थियो किनकि चौथो सन्तानको जन्मपछि मन नहुँदा–नहुँदै पनि उनले बन्ध्याकरण भइसकेको थियो । डिस एसोसिएसन, मेमोरी लस र अति डिप्रेसनजस्ता मानसिक समस्याका लक्षण पनि उनमा त्यसअघि नै देखिएको थियो। यति हुँदाहुँदै पनि कोही उनको सहयोगमा आएन वा उनलाई संरक्षण र सहयोगको प्रस्ताव गरेन।

लिसा मोन्टगोमेरीको कथाको यो एउटा जल्दोबल्दो विषय थियो, जो अदालतको दस्तावेजबाट बाहिरै रह्यो । त्यसरी नै समाजले उनलाई असफल बनायो, जसरी उनले जर्बजस्ती डरलाग्दो अपराध गरिन् ।

अँध्यरो बाल्यकालका दौरान केवल एकपटक मात्रै सामाजिक कार्यकर्ताहरु उनको परिवारमा आए र त्यतिबेला पनि पहिले उनीहरुले मोन्टगोमेरीका बाबुआमासँग सोधपुछ गरे। जसका कारण मृत्युको पीडाबारे मोन्टगोमेरीलाई चुप राख्न उनीहरु ९बाबु–आमा० सक्षम भए। अनि ओक्लाहोमामा एक डाक्टर पनि थिए, जसले बाल्यकालमा मोन्टगोमेरीको परीक्षण गर्दा नियमित बलात्कारबारे थाहा पाएका थिए तर यसबारे उनले केही गरेनन्।

मोन्टगोमेरीकी आमा जुडीले एक पटक यौन शोषणबारे ‘बाल कल्याण कार्यालय’मा उजुरी पनि दिएकी थिइन् तर यसले पनि केही गरेन र फेमिली कोर्टका न्यायाधीसले ९जो बाबुआमाको सम्बन्ध विच्छेको अध्यक्षता गर्छन्० आफ्नो छोरीमाथि बलात्कार हुँदा पनि पुलिसमा रिपोर्ट नगरेको भन्दै जुडीलाई थर्काए तर उनीहरुले पनि केही गरेनन्।

समाजले लिसा मोन्टगोमेरीलाई एक वा दुई पटक होइन निरन्तर विफल गरियो । अहिले ट्रम्प प्रशासनरूपी समाजले त्यस नतिजाको सजायका लागि उनलाई मार्ने तयारी गरिरहेछ। सान्द्रा बेवककका अनुसार उनी पछिल्ला ३० वर्षमा मृत्युदण्डको सजाय सामना गरिरहेका विश्वभरका सयौँ बन्दीको रक्षार्थ खडा भएकी छिन्। ‘र, मैले यस्तो घटना कहिल्यै देखेको थिइनँ। अमेरिका वा अन्यत्र कहीँ पनि यस्तो निर्मम यौन यातना र हिंसाको शिकार भएका व्यक्तिमाथि मृत्युदण्ड भएको मलाई थाहा छैन।’

बेवककको बुझाइअनुसार अधिकांश अमेरिकीहरुलाई लिसा मोन्टगोमेरीले के गरिन् र त्यसअघि के भएको थियो भन्ने यथार्थ थाहा भयो भने उनीहरु मृत्युदण्ड रोक्ने पक्षमा हुनेछन्। सबै अमेरिकीहरुलाई सम्पूर्ण तथ्य थाहा छैन। घडीको सुई घुमिरहेको छ। ‘मृत्युदण्ड अघि बढ्यो भने हामी सबैले लाजको गहिरो अर्थ महसुस गर्नुपर्ने छ,’ बेवकक भन्छन्।

द गार्जियन

(अनुवाद– अन्वेषण अधिकारी)