अमेरिकी एयरफोर्सकी सदस्य ट्रम्पका लागि सहिद



एजेन्सी। बुुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरुले संसद् भवनमा हमला गरे।

यसक्रममा एक ट्रम्प समर्थक महिला मारिइन्। यी महिला अमेरिकी एयर फोर्सकी पूर्व सदस्य रहेको खुलेको छ। मृत्यु हुनभन्दा एक दिनअघि मात्रै क्यालिफोर्नियाकी यी महिलाले ट्वीटरमा लेखेकी थिइन्, ‘कसैले हामीलाई रोक्ने छैन’ र ‘यहाँ आँधी आएको छ।’

१४ वर्षसम्म अस्ली बाब्विटले एयरफोर्समा काम गरेकी थिइन्। यसक्रममा उनले चारवटा टुर गरेकी थिइन्। यी विवाहित महिला सान डिएगो नजिकै बस्ने गरेको उनका पति आरोनले बताए। ‘म विक्षिप्त छु। मेरो छोरालाई कसैले यस घटनाबारे जानकारी दिएन, हामीले टिभीमार्फत समाचार थाहा पायौं,’ बुहारीको मृत्युबारे आरोनकी आमा रोबिन बब्विटले भनिन्, ‘उनी ट्रम्प समर्थक थिइन्।’

आरोनका भाई जस्टिनले सबै कुरा अनौठो र निराशलाग्दो रहेको बताए । ‘हामीलाई निकै गाह्रो भइरहेछ, हामीलाई औपचारिक जानकारी पनि आएको छैन । कसैले वास्ता गरेन,’ उनले भने । आफुमाथि गोल लाग्नुुभन्दा एक दिनअघि अस्लीले ट्वीट गरेकी थिइन्, ‘केही कुराले हामीलाई रोक्नेछैन, उनीहरुले प्रयास, प्रयास र प्रयास गर्नसक्छन्, तर आँधी यहाँ छ र २४ घण्टाभन्दा कम समयमा यो वासिङटन डिसीमा पुुग्दैंछ । अन्धकारदेखि प्रकाशससम्म।’

उनी र अन्य ट्रम्प समर्थकहरुले संसद् भवन घेरा हाल्नुअघि उनले लेखेका ट्वीटमा अब के गर्नुपर्छ भनेर उल्लेख गरिएको छ । माइक पेन्सले राजीनामा दिनैपर्ने र उनीविरुद्ध राष्ट्रद्रोहको अभियोग लगाउनुपर्ने, प्रमुख न्यायधीश जोन रोबर्टस्ले राजीनामा दिनैपर्नेलगायत मागहरु ट्वीटरमार्फत राखिएको थियो । गत नोभेम्बरमा निर्वाचन हारेपनि ट्रम्पले नतिजा स्वीकारेका छैनन् । उनले निरन्तर रुपमा निर्वाचन प्रक्रिया धाँधलीपूर्ण रहेको दाबी गरिरहेका छन् ।

बाइडेनले डिसेम्बरमा सम्पन्न इलेक्टोरल बैठकबाट ३ सय ६ सदस्यको मत प्राप्त गर्दै विजय सुनिश्चित गरेका थिए, ट्रम्पलाई २ सय ३२ इलेक्टोरल मतमात्रै प्राप्त भयो । यही इलेक्टोरल बैठकको मतलाई समीक्षा गर्दै प्रमाणीकरण गर्ने काम बुधबार संसद् बैठकले गर्दै थियो, तर त्यसअघि नै ट्रम्प समर्थकहरुले संसद् भवन घेरा हाले । त्यसपछि उनीहरु जर्बजस्ती कम्पाउन्डभित्र छिरे ।

भवनभित्र हुलदङ्गा निम्तिएपछि सुरक्षाकर्मीले गोल प्रहार गरे, बाब्विटको छातिमा एउटा बुलेट लाग्यो । भिडियोमा गोलीको आवाज सुनिन्छ र त्यसपछि यी महिला जमिनमा ढलेको दृश्य कैद छ । अधिकारीहरुले दिएको गोप्य जानकारीअनुसार संसद् भवनका प्रहरीले नै उनीमाथि गोली दागेका हुन् ।