कर्णालीमा ओली समूह कम्जोर, मन्त्रीले धमाधम छोडे साथ



सुर्खेत। कर्णाली प्रदेश सरकारका थप एकजना मन्त्रीले पनि प्रधानमन्त्री केपी शर्मा ओली समूह छोडेका छन्।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूह छाडेर प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा प्रचण्ड-नेपाल समूहमा लागेका छन्।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै आफू पार्टीको मुलधार प्रचण्ड-नेपाल नेतृत्वको (नेकपा) मा रहेको स्पष्ट पारेका छन्। आन्तरिक कलहले पार्टी विभाजनसम्मको स्थितिमा पुगेकोमा दुःख व्यक्त गर्दै मन्त्री बुढाले विकासमा पछि रहेको कर्णालीमा स्थायी सरकार बनाउन आवश्यक रहेको भन्दै आफू नेकपाको मुलधारमा नै रहेको बताएका छन्।

यसअघि पनि ओली समूहका सामाजिक विकासमन्त्री दल रावल प्रचण्ड-नेपाल समूहमा लागिसकेका छन्। रावल र बुढा ओली समूहको तर्फबाट प्रदेश सरकारमा मन्त्री बनेका थिए।