कालिकोट। नेकपा (नेकपा) ओली पक्षका केन्द्रीय सदस्य नगिन्द्र शाही (नेशनल) ले स्थानीय नेता तथा कार्यकर्ताहरुलाई धैर्य रहन अनुरोध गरेका छन्।
पार्टी विभाजनको गहिरो चोटसँगै गाउँमा पुगेका नेताहरुले स्थानीय कार्यकर्ता र मतदाताहरुलाई आश्वस्त पार्ने काम गरिरहेका छन्। यसै क्रममा गृह जिल्ला कालिकोट पुगेका नेता शाहीले स्थानीय कार्यकर्तालाई धैर्य रहन र नआत्तिन आग्रह गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राजनीतिक मुद्धा भएको दाबी गरे। राजनीतिमा अनेकन घुम्ति र मोडहरु आउने कुरालाई स्मरण गर्दै नेता शाहीले त्यस्ता समस्याहरुलाई पञ्छाएर अगाडि बढ्नुपर्ने बताए।
जिल्लाको नरहरिनाथ गाउँपालिका वडा नम्बर ८ र ९ को संयुक्त आयोजनामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको आधिकारिकता र चुनाव चिन्ह ओली पक्षले पाउने दावी गरेका छन्। उनले गापा अध्यक्ष धीरबहादुर विष्टलाई ६० प्रतिशत पूर्व एमालेको जनमत लिएर आज धोका दिएको आरोप लगाए। अध्यक्ष विष्ट प्रचण्ड-नेपाल समूहतिर लागेका छन्।
त्यस्तै सोमबार आयोजित उक्त कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य तथा नेपाका (ओली) पक्षकै केन्द्रीय सदस्य मिनबहादुर शाहीले पनि सम्बोधन गरेका थिए। त्यस्तै मदनभण्डारी स्पोर्टस् कालिकोटका उपाध्यक्ष प्रदिप बोहराले राजनीतिक अस्थिरताका कारण समाजमा विभाजन आएको स्वीकार गर्दै पुनः एकपटक संघर्ष गर्नुपर्ने बताएका छन्।
समाजलाई जोडेर जाने बताउँदै बोहराले प्रचण्ड-नेपाल पक्षीय नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक संस्कारको परिधिमा बस्न चेनावनीसमेत दिएका छन्। उनले केन्द्रमा को के भयो ? त्यो फरक कुरा भएको भन्दै स्थानीय स्तरमा जनता र कार्यकर्ताबीच एकता र भ्रातृत्वको खाचो पर्नेमा जोड दिएका छन्। ओली पक्षको अगुवा भेला सञ्चालन भइरहेको बेला प्रचण्ड-नेपाल पक्षीय कार्यकर्ताहरुले डिस्टर्व पुग्नेगरी गतिविधि गरेका थिए।