विद्युतीय पासपोर्टमा कर्णालीको राता र सिंजा उपत्यका



काठमाडौँ। नेपाल सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) मा प्राचिन र प्राकृतिक चिन्हहरु राख्ने तयारी पूरा गरेको छ।

विभिन्न पेष्ठका लागि ३५वटा तस्वीर टुंगो लगाइएको छ भने अन्य ५ वटा तस्वीरहरुलाई बैकल्पिक रुपमा प्रयोग गर्न सकिने गरी सरकारले स्वीकृत गरेको छ। सरकारले विद्युतीय राहदानी (ई-पासपोर्ट) छपाइको जिम्मेवारी फ्रान्सको आईडीईएमआईए आइडिन्टीटी एन्ड सेक्युरिटीलाई दिइसकेको छ।

आईडीईएमआईएले करिब २ अर्ब ४८ करोड रुपैयाँ (२ करोड ११ लाख अमेरिकी डलर) मा ई-पासपोर्टको छपाईको ठेक्का पाएको छ। पुस १० गते बसेको मन्त्रिपरिषद बैठकले निर्णयपछि ई(पासपोर्टमा रहने तस्वीरहरुको टुंगो लगाएपछि अब सरकारले तोकिएका सम्पदा, संस्कृति, जीवनयापन, वन्यजन्तु र ठाउँहरुको फोटो संकलन गरेर छपाइको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।

यसैक्रममा कर्णाली प्रदेशको राता ताल र जुम्लाको सिंजा उपत्यकाले पासपोर्टमा स्थान पाएका छन्। त्यस्तै डोल्पाको फोक्सुण्डो वैकल्पिक तस्बिरमा परेको छ। यसरी वैकल्पिक तस्बिरहरुमा तिलिचो ताल, खप्तड पाटन क्षेत्र, माच्छापुच्छ्रेको छायासहितको फेवा ताल र माथिल्लो तामाकोसी प्रसारणलाइन पनि परेका छन्।

अहिले नेपालले मेसिन रिडेबल पासपोर्ट प्रयोग गरिरहेको छ। अब अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड अनुसार नेपालले पनि विद्युतीय राहदानी प्रयोग गर्न लागेको हो।

यो पासपोर्टमा विद्युतीय चिप जोडिएको हुन्छ, जसमा सम्पूर्ण व्यक्तिगत विवरण राखिएको हुन्छ। जसलाई मेसिनले सहजै रिड गर्नसक्नेछ। यो कम्प्युटर प्रणालीमा आधारित हुनेछ।

हेर्नुहोस