राजसंस्था पुन:स्थापना गरेरै छाड्ने थापाको दाबी



काठमाडौँ। सरकारको असफलता, भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रणलगायतका विषयलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध प्रदर्शन गरेको छ।

शुक्रबार राजधानीको भृकुटीमण्डपदेखि रत्नपार्क शान्तिवाटिकासम्म राप्रपाले प्रदर्शन गरेको हो। शान्तिवाटिकामा आयोजित सभामा बोल्दै पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था पुुनः स्थापना गरेरै छाड्ने दाबी गरेका छन्।

उनले भने, ‘हिजो कठिन घडीमा राप्रपाले बोकेर हिड्यो होला। अब आम नेपालीको एजेण्डा बनिसकेको छ। कसैले चाहे पनि नचाहे पनि घरघरमा बहस हुन थालेको छ। हामी यो देश बचाउन, प्रजातन्त्र र राष्ट्रियतालाई बलियो बनाउन र आर्थिक समृद्धिका निमित्त आवश्यक पर्‍यो भने मर्न र मार्न पनि तयार भएर सडकमा आएका छौं। टाउकोमा कफन बाँधेर आएका छौं।’

राजसंस्था नहुँदा देश अभिभावक बिहीन भएको र विदशीको चलखेल तीव्र रुपमा बढेको थापाको भनाई छ। थापाले भने, ‘कहिले दक्षिणबाट कहिले उत्तरबाट नेपालको राष्ट्रिय स्वाभिमान, सार्वभौािकता र नेपाली जनताको निर्णयकत्वमाथि प्रहार गर्ने काम भएको छ।’

प्रदर्शनमा राप्रपाको झण्डा, राष्ट्रिय झण्डा र हिन्दु धर्मसँग आस्था राख्ने विभिन्न समूहले झण्डा बोकेर प्रदर्शनमा भाग लिएका थिए। प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्षत्रय पशुपतिशम्शेर जबरा, डा.प्रकाशचन्द्र लोहनीले पनि सम्बोधन गरेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे