जलाइसकेको भनेको उत्तरपुस्तिका त्रिविद्वारा भेटाएको जवाफ



काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका धुल्याएको घटनामा ट्विस्ट देखिएको छ।

काठमाडौं प्रहरीले तामेलीबाट जगाएर सो घटना अनुसन्धान गर्दा नयाँ तथ्य फेला परेको हो। यसअघिका काठमाडौका एसएसपी श्यामलाल ज्ञवालीको निर्देशनमा त्रिभुवन विश्वविद्यालयको अनुसन्धान फायल प्रहरीले तामेलिमा राखेको थियो।

जाहेरवाला आशिष पौडेलले आफुसँग थप प्रमाण भएको दावी गरेपछि प्रहरीले पुनः सो फायल खोलेको हो। फायल खोलेपछि सो घटनामा ट्विस्ट देखिएको छ।

राष्ट्रिय सुचना आयोगले ०७५ पुस २९ मा सञ्चालित स्नातकोत्तर भौतिक शास्त्र प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स परिक्षाको प्रश्नपत्र र उत्तरपुस्तिका ‘संरक्षण गर्नु’ भन्ने निर्देशन दिएको थियो। सो निर्देशन लत्याएर त्रिवीले उत्तरपुस्तिका धुल्याको हुनाले ‘फौजदारी अभियोग’मा अनुसन्धान गर्न परिक्षार्थी आशिष पौडेलले प्रहरीमा जाहेरी दिए। प्रहरीलाई शुरुवातमा ‘प्रश्नपत्र नियम बमोजिम धुल्याएको’ जवाफ दिएको त्रिभुवन विश्वविद्यालयले अहिले फेरी ‘उत्तरपुस्तिका सुरिक्षत रहेको’ जवाफ लेखेको छ।

त्रिभुवन विश्वविद्यालयले पहिले जलाइसकेको जवाफ दिएको तर, अहिले सुरक्षित रहेको लिखित जवाफ पठाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए। उनले भने–‘हामीले जुन प्रमाण नष्ट गरेको बारे अनुसन्धान गर्दै थियौँ, प्रमाण सुरक्षीत भएपछि अब थप अनुसन्धान गर्नुपर्ने देखिएन।’

०७७ असोज ९ को जाहेरवाला पौडेलले तामेलीबाट जगाइ अनुसन्धान तहकिकात गरी पाउँ भन्दै पुरक निवेदन दिएका थिए। सूचना आयोगले ०७६ असोज १४ मा दिएको निर्देशनको वेवास्ता गरेर अभिलेख धुल्याएको जवाफ दिएको भन्दै रेक्टर प्रा.डा.शिलवाल भुषाललाई जरिवाना गरेको थियो ।