ओलीको अधिनायकवादी प्रवृत्तिविरुद्ध विप्लव नेकपाको मोर्चा गठन



काठमाडौँ। प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर संयुक्त मोर्चा निर्माण गर्ने जनाएको छ।

विप्लव नेकपाले ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने जनाएको हो।

चार पार्टीले मंगलबार जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री केपी शर्मा ओली सरकारको निरङ्कुशता, फासिवाद र दलाल तथा प्रतिक्रियावादी राज्यसत्ताकाविरुद्ध अग्रगामी राजनीतिक विकासको ऐतिहासिक पहल कदमीका निम्ति हामी ४ पार्टीका बीचमा रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने सहमति भएको छ। यसको अवधारणा, संरचना र अग्रगामी कार्यक्रम शीघ्र घोषणा गरिनेछ।’

वैदेशिक शक्तिको आड, भरोसा र इसारामा ओली सरकारले संसद् विघटन गरेको विज्ञप्तिमा उल्लेख छ। संसद विघटन गर्ने कदम पार्टीको आन्तरिक मामिला नभएको भन्दै उनीहरुले यसलाई संसदीय व्यवस्थाको असफलताको द्योतक भएको बताएका छन्।