ओली सरकार काम चलाउ भइसक्यो: अध्यक्ष नेपाल



काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकार कामचलाउ भइसकेको दाबी गरेका छन्। प्रतिनिधिसभा विघटनको विरोधमा मंगलबार काठमाडौँको भृकुटिभण्डपमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै सरकारले आफू कामचलाउ भइसकेको जानकारी दिनुपर्ने बताएका छन्।

नेपालले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री बन्न पाउने प्रावधान छैन। कामचलाउ भइसक्दा पनि ओलीजीलाई पद बाँड्ने रहर छ, पदको ललीपप बाँडीरहेका छन्।’ ५ पुसदेखि कामचलाउ भइसकेपछि पनि असंवैधानिक तरिकाले मन्त्रीपरिषद् विस्तार गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। १० पुसमा गरेको मन्त्रीपरिषद् विस्तारविरुद्धको रिटमा १५ पुसका लागि पेसी तोकिएको छ।

त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वरिष्ठ नेता झलनाथ खनालले जननिर्वाचित संस्था विघटन गरेर सरकारले मुलुकमा अस्थिरता सिर्जना गर्न खोजेको आरोप लगाएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनप्रदर्शनलाई सम्बोधन गर्दै संसद् विघटनसँगै अस्थिरताको अर्को शृङ्खला शुरु भएको बताए।

जनताका भावना विपरीतका कदम सच्याउन राष्ट्रव्यापीरुपमा आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्नेमा जोड दिँदै उनले संविधानको सफल कार्यान्वयनमा सबै राजनीतिक दलको सहयोगको खाँचो औँल्याए। गरीबी र अशिक्षा उन्मूलन गर्नुपर्नेमा सरकार त्यसतर्फ नलागेको उनले आरोप लगाए। पार्टीभित्र आलोचना गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको र बैठक बहिष्कार गर्दै गई पार्टीमा समस्या देखापरेको उनले बताए।

पार्टी एकतालाई पूर्णता दिने क्रममा अध्यक्ष ओली बाधक बनेको उनको भनाइ थियो। पार्टी एकीकरणको बाँकी कामलाई सम्पन्न गरेर मुलुकलाई समृद्ध बनाउन सबै लाग्नुपर्नेमा उनले जोड दिए। कुनै पनि प्रधानमन्त्रीले मनखुशी प्रतिनिधिसभा विघटन गर्न विशेषाधिकार संविधानबाट हटाइसकिएको उनले प्रष्ट पारे।

नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले प्रतिगमन नसच्चिँदासम्म सडक नछाड्ने बताएका छन्। संसद विघटनको विरोधमा प्रचण्ड–नेपाल समूहले देशभर शक्ति प्रदर्शन गरेको छ। बाग्मती प्रदेशको काठमाडौँमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै नेता भट्टराईले यस्तो चेतावनी दिएका हुन्।

सभा सञ्चालन गरिरहेका नेता भट्टराईले यो कार्यक्रम आफूहरु सडकमा आएको जनाउ दिन मात्र भएको बताए। जनप्रदर्शनमा उल्लेख्य सहभागिता रहेको भन्दै उनले भने, ‘जुन दिनसम्म प्रतिगमन सच्चिँदैन, संविधान सही ठाउँमा आउँदैन, प्रतिनिधिसभाको बैठक आह्वान गरिँदैन, हामी सडक छाड्दैनौं।’

तस्बिर: मुकुन्द कालिकोटे