अब ओलीको पत्तासाप हुन्छ: अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा (प्रचण्ड–माधव) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीलाई झुटको पुलिन्दाको रुपमा टिप्पणी गरेका छन्।

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौँको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले वैशाखपछि ओली प्रधानमन्त्रीका रुपमा नरहनेसमेत दाबी गरेका छन्। साथै उनले ओलीको समाप्ति अनिवार्य भएको टिप्पणी गरे। ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले भने, ‘कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ। भने, ‘त्यो दुश्वस्न हो भन्ठान्छु। हुनेबाला चुनाव घोषणा भएकै होइन। चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा छैन। चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना।’

छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने प्रचण्डको भनाई छ। प्रचण्ड अगमडि भने, ‘मलाई लाग्छ, केपी ओली गोटी भएका हुन्। वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट ओलीको पत्तासाथ हुनेबाला छ। अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ।’

निर्वाचन आयोग र अदालतको भरोसामा रहेको भन्दै आफूहरुको पक्षमा निर्णय हुने विश्वास व्यक्त गरेका छन्। उनले भने, ‘हामीले निर्वाचन आयोगलाई हामी यहाँ छौं भनेर जानकारी दिएका छौं। अदालतलाई पनि भनेका छौं भन्दै आइरहेका छौं। तीन सयभन्दा धेरै केन्द्रीय सदस्यहरु लाईन लागेर औठा छाप लगाउन पनि तयार छौं भनेका छौं। ओली एक्काले ११ जना केन्द्रीय सदस्य भनेर कसैले विश्वास गर्ने कुरा हो ? यो त उनको महाराज हुने सपना हो। त्यो सम्भव छैन।’

उनले भोलिदेखि ओलीको कदमविरुद्ध कडा आन्दोलन गर्ने घोषणा गर्ने जानकारी दिएका छन्। प्रचण्डले आफूहरू एक पटक फेरि निर्मम संघर्ष गर्न तयार रहेको उद्घोष गरे। उनले सम्बोधनको क्रममा भने,‘भोलि नै योभन्दा कडा आन्दोलनको कार्यक्रम तय गर्दैछौं। हामी अन्तिम समयसम्म लड्छौं। हामी छोड्नेवाला छैनौं।तपाइँहरूले के-के गर्न सक्ने हो गरे हुन्छ।’

ओलीले कलंकको टिका लगाएको पनि गम्भीर आरोप लगाएका प्रचण्डले भने, ‘उहाँले संविधानको बलात्कार गरें,मैले अपराध गरें भनेर नभनेसम्म नेपाली जनताले केपी ओलीलाई क्षमा दिनेछैनन्। प्रतिनिधिसभा भङ्ग भएको छैन। भङ्ग भएको त केपी ओलीको सरकार हो। हामी छोटो समयमा यत्तिका धेरै विरोध सभा र प्रदर्शनमा उत्रिएका छौं।’

उनले अगाडि भने, ‘आज हाम्रो पार्टीले सबै जिल्लामा यस्तै प्रदर्शन र विरोध सभा आयोजना गरेको छ । हामीले देशभित्र र बाहिर रहेका सबै नेपाली दाजुभाई तथा दिदिबहिनीलाई सम्बोधन गरिरहेका छौं। संविधानमाथि भएको क्रुर र निर्मम प्रहारका विरुद्ध विश्वभरिका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई अपिल गरेका छौं। यो लडाई सबैको लडाई हो।’

नेपाली जनताले ७० वर्ष लामो समय लगाएर कहिले जनयुद्ध र कहिले जनआन्दोलन गरेर संविधानसभाद्धारा संविधान बनाएको स्मरण गराउँदै उनले ओलीले संविधानमाथि नै प्रहार गरेको टिप्पणी गरे। उनले अघि थपे, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान भयो। रगत र बलिदान दिएर हाँसिल गरेको परीणाम हो–यो संविधान। अब कम्युनिष्टहरुलाई मत दिएपछि राजनीतिक व्यवस्था स्थायी हुनेछ।’

प्रचण्डले नयाँ युगको प्रारम्भ हुनेछ भनेर नेपाली जनताले पाँच वर्षका लागि नेकपालाई भरोसाका साथ मत दिएको स्पष्ट पारे। उनले भने, ‘तीन वर्ष बित्दा नबित्दै, हामीले बनाएको र अघि सारेको प्रधानमन्त्रीबाट संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि प्रहार भयो क्षमायाचन माग्न चाहन्छु। मैले नै वाम गठबन्धनको प्रस्ताव लिएर ओली कहाँ गएको हो। मलाई थाहा थियो–उहाँको बयलगाडाको सिद्धान्त हो। मार्क्सवाद–लेनिनवाद र संघीयताको विरोध हो। धर्मनिरपेक्षता विरोधी हो भन्नेपनि मलाई थाहा थियो–अब आँधी आयो, हुरी आयो मैले पनि मान्दिएँ भन्नुभएकोले विश्वास गरेको हो।’

उनले अगाडि भने,‘उहाँको मनले चाहीँ मान्नुभएको थिएन। उहाँ बयलगाढामै हुनुहुन्छ। प्रतिगमनकारी ठाउँमा नै हुनुहुन्छ भन्ने देखियो। हामीले सच्चिए होला भन्नठान्यौं तर कहीँ कहीँ मलाई थोरै अप्ठ्यारो महशुस भयो। हामीले बुझ्न सकेनौं। यति छिटो संविधानमाथि निर्मम प्रहार भयो। कसैले पनि हामीले सपनामा पनि सोचेका थिएनौं। कम्युनिष्ट पार्टी भनेको विचार र विधिबाट चल्ने पार्टी हो। तर, ओली विचारबाट स्खलित भैसकेको व्यक्ति हो।’

तस्बिर:मुकुन्द कालिकोटे