सहरी विकास मन्त्रालयको नेतृत्वमा प्रभु साह



काठमाडौँ। नेकपा सांसद एवं केन्द्रीय सदस्य प्रभु साहले सहरी विकास मन्त्रीको पदभार सम्हालेका छन्।

सिंहदरबार स्थित मन्त्रालयमा आइतबार मन्त्री साहले पदभार सम्हालेका हुन्। उनी प्रचण्ड-नेपाल समूह छोडेर प्रधानमन्त्री केपी ओली समूहमा लागेका हुन्। प्रचण्ड-नेपाल समूहबाट माधव कुमार नेपाल अध्यक्ष बनेपछि साह असन्तुष्ट बनेका थिए। उनले दुई अध्यक्ष प्राणालीले पार्टी विभाजन र क्रियाशिलताको कमी भएको भन्दै विरोध जनाएका थिए।

त्यहि विषयलाई लिएर प्रचण्ड पक्षले साहसँग स्पष्टिकरणसमेत सोधेको थियो। गत साताको मंगलबार र बिहीबार दुई दिन बसेको प्रचण्ड‍-नेपाल समूहको बैठकमा साह सहभागी थिए।

पार्टीमा दुई अध्यक्ष राख्नु हुँदैन भनेर उनले सार्वजनिक वक्तव्यसमेत दिएका थिए। रौतहट क्षेत्र नम्बर ३ बाट निर्वाचित साह नेपालसँग पार्टी एकतादेखि नै असन्तुष्ट बन्दै आएका थिए। नेकपाको अन्तर्संघर्षमा साह तटस्थ रहँदै आएका थिए। मन्त्री हुने भएसँगै साह ओली समूहमा लागेका थिए। सुरुमा ओलीको कदमलाई असंवैधानिक भनेर प्रतिक्रिया जनाएका साह एकाएक मन्त्री बनेपछि आलोचित बनेका छन्।

तस्बिर: मुकुन्द कालिकोटे