ऐन महरलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही



काठमाडौँ। नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को भातृ संगठन अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले संयोजक ऐन महरलाई साधारण सदस्य नरहने गरी कारबाही गरेका छन्।

शुक्रबार सहसंयोजक तामाङ समूहले संयोजक महरलाई जिम्मेवारीबाट हटाएको घोषणा गरेको हो। संगठनको बहुमतको निर्णयले महरलाई कारबाही गरेको तामाङले विज्ञप्तिमार्फत जानकारी गराएका छन्।

संगठनको नीति, निर्णय र विधान विपरीतका गतिविधि निरन्तर जारी राखेकाले अनेरास्ववियूको अन्तरिम विधान २०७६ को धारा ७ बमोजिम संगठनको बहुमतको निर्णयअनुसार उनलाई कारबाही गरिएको विज्ञप्तिमा उल्लेख छ।

महरलाई गरिएको कारबाहीलाई अनुमोदन गर्नका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी समक्ष सिफारिस गरिएको विज्ञप्तिमा उल्लेख छ। सरकारले संसद विघटन गरेपछि नेकपा विभाजन भएको छ।

प्रचण्ड-माधव समूह र ओली समूहले बेग्लाबेग्लै केन्द्रीय कमिटी बैठक जारी राखेका छन्। अनेरास्वयियूका सहसंयोजक तामाङ प्रचण्ड-माधव समूहतिर छन्। संयोजक महर केपी शर्मा ओली समूहका केन्द्रीय सदस्य बनिसकेका छन्।