प्रचण्ड-नेपाल पक्षले सुरु गर्यो आन्दोलन



काठमाडौँ। संसद विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल समूहले माइतीघरबाट विरोध र्याली सुरु गरेको छ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्षद्वय प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका छन्। उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्को नाराबाजी गरेका छन्।

नेकपाको प्रदर्शनलाई मध्यनजर गर्दै बानेश्वर माइतीघर सडकखण्ड खाली गराइएको छ। माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको योजना छ।

निवर्तमान मन्त्री घनश्याम भुसाल आधिकारिक नेकपा आफूहरु रहेको बताउछन्। उनी निर्वाचन आयोगमा जाने र संसद विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पनि जाने बताउछन्। आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड(माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ। साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ।

बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ। विहीबार केन्द्रीय समिति बैठकको समापनको बेला प्रचण्ड–माधव समूहका अध्यक्ष तथा संसदीय दलका नेता प्रचण्डले प्रतिगामी षड्यन्त्र सुरु भएको भन्दै जीवन–मरणको संघर्ष गर्नुपर्ने बेला आएको बताएका थिए।