संसद विघटनविरुद्ध सुर्खेतमा प्रदर्शन



सुर्खेत। प्रधानमन्त्री र राष्ट्रपतिको मिलिभगतमा संसद विघटन गरिएपछि देशमा राजनीतिक अस्थिरता सुरु भएको छ।

कतै प्रधानमन्त्रीका विरुद्ध नारा घन्किन थालेका छन् त कतै पुत्ला दहन हुन थालेका छन्। राके जुलुसहरु त्यत्तिकै छन्। प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तवरले संसद भंग गरेपछि देश ब्यापी विरोधका आवाजहरु उठिरहेका छन्।

प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध नेकपा (प्रचण्ड-माधव) पक्षले निरन्तर प्रायः आन्दोलन गरिरहेको छ। यसै क्रममा नेकपाका जनवर्गीय संगठनहरुले बिहिबार सुर्खेतमा विरोध र्याली निकाले छन्। साथै उनीहरुले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध राके जुलुससमेत निकाले छन्।

त्यस्तै बिहिबारै नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षले पनि सरकारको विरुद्धमा पुस १४ गते देशभर आन्दोलन गर्ने बताएको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले शुक्रबारदेखि नै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो। काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने बताएको छ।

पुस १४ गते देशव्यापी प्रदर्शन हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन्। उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ। यसका लागि बाग्मती प्रदेशका सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ।

यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बैठकमा जानकारी दिए। उनले भने, ‘यो नेपाल बन्दसम्म पनि हुन सक्छ।’ आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ। यसको सचिवालय पनि बनाइनेछ।

बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ। ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ। २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ।