काठमाडौँ। नेपाली कांग्रेसले संसद विघटनविरुद्ध यहि पुस १३ गते देशभर प्रदर्शन गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १३ गते १६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निर्णय लिएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा पुस ५ गते संसद विघटन गरेपछि कांग्रेसले विरोध प्रदर्शनको घोषणा गरेको हो।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडल पक्षको दबाबपछि सभापति शेरबहादुर देउवा आन्दोलनमा जान तयार भएका हुन्। बिहीबार बिहान बसेको पौडेल पक्षीय केन्द्रीय सदस्यको भेलाले पार्टीलाई सडक संघर्षमा उतार्नु पर्ने निष्कर्ष निकालेका थिए।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षले पनि सरकारको विरुद्धमा पुस १४ गते देशभर आन्दोलन गर्ने बताएको छ। बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले शुक्रबारदेखि नै सडकमा आन्दोलनमा उत्रिने निर्णय गरेको हो। काठमाडौंमा भोलिदेखि नै दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने बताएको छ।
पुस १४ गते देशव्यापी प्रदर्शन हुने प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले जानकारी दिएका छन्। उनका अनुसार काठमाडौंमा मुख्य प्रदर्शन हुनेछ। यसका लागि बाग्मती प्रदेशका सबै जिल्लालाई राजधानीमा नै केन्द्रीत गरिनेछ।
यसपछि अझ सशक्त उच्चस्तरीय कार्यक्रम घोषणा गरिने प्रवक्ता श्रेष्ठले बैठकमा जानकारी दिए। उनले भने, ‘यो नेपाल बन्दसम्म पनि हुन सक्छ।’ आन्दोलनका लागि श्रेष्ठकै संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन समिति बनेको छ। यसको सचिवालय पनि बनाइनेछ।
बैठकले पुस १० गते माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने निर्णय गरेको छ। ११ गते ७ प्रदेशका प्रदेश कमिटी बैठक सम्बबन्धित प्रदेशमै गर्ने र १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला निर्णय भएको छ। २० गतेसम्म सबै नगर तथा गाउँ र २५ गतेसम्म वडास्तरमा बैठक एवं भेला गर्ने बैठकको निर्णय छ।