उषाकला राईद्वारा केन्द्रीय सदस्य पद अस्विकार



काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेता तथा सभासद उषाकला राईले (ओली) समूहले प्रदान गरेको केन्द्रीय सदस्य पद अस्विकार गरेकी छन्। उनलाई ओली समूहले केन्द्रीय सदस्य बनाएको थियो।

बुधबारसम्म पनि उनी पार्टी एकताको पक्षमा वकालत गरिरहेकी थिईन। उनले बारम्बार जटिल परिस्थितिमा मिलेको पार्टी यति सहज स्थितिमा यति असहजतामा जाकिनु हुँदैन भन्दै एकतावद्ध हुन नेता र कार्यकर्तालाई अनुरोध गर्दै आएकी थिईन। चार दशक राजनीतिक यात्राको क्रममा अत्याधिक पिडा भएको दिनका रुपमा ब्याख्या गर्दै उक्त पद अस्विकार गरेको जानकारी दिएकी छन्।

त्यस्तै पूर्व कानूनमन्त्री, प्रतिनिधिसभा सांसद तथा नेकपाका नेता शेरबहादुर तामाङले पनि परिवर्तन र संवैधानिक व्यवस्थामा केही मागहरु र मुद्धाहरुलाई संस्थागत गर्न लागिरहेकै बेला संसद विघटन हुँदा आफूलाई पीडाबोध भएको भन्दै पद गौण कुरा भएको स्पष्ट पारेका छन्।

सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी हुँदै आएका उनी प्रचण्ड–माधव समूहतिर फर्किएका हुन्। प्रतिनिधिसभा सदस्यसमेत रहेका तामाङ सोमबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको सांसदहरुको बैठक र मंगलबार केन्द्रीय सदस्यहरुको बैठकमा सहभागी भएका थिए।

तर, आज उनी प्रचण्ड–माधव पक्षको बैठकमा जाने भएका छन्। तामाङ सिन्धुपाल्चोक–२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन्। उनकी पत्नी उषाकला राई प्रदेशसभा सदस्य हुन्।

राई दम्पतिद्वारा जारी विज्ञप्ति हेर्नुहोस्