नेकपा विभाजन भएको ओलीद्वारा स्वीकार



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिकरुपमा नेकपा विभाजन भएको स्वीकार गरेका छन्। उनले एकीकरण सफल नभएको स्वीकार्दै भने, ‘प्रचण्डजी र मैले एकता गरेका थियौँ, दुई वटा पार्टी मिलाएर लैजाने भनेका थियौँ, प्रचण्डजी र म मिलेनौँ।’

केन्द्रमा प्रचण्ड–माधव समूहको सङ्ख्या केही धेरै जस्तो देखिए पनि ग्राउण्डमा केही नभएको ओलीले बताएका छन्। उनले आफ्नो पक्षसँग ग्राउण्डमा विशाल जनाधार रहेको दाबी गरे।

‘उहाँले ९९ मा पुगेको ठान्नु भो र १०० मा पुगेको भनेर यस्तो हतार गर्नुभयो  तर, लुडो खेलेजस्तो दुईमा झर्नुभयो’, ओलीले बुधबार राति एक टेलिभिजन अन्तर्वार्तामा भने, ‘म धेरै बहस गर्न चाहन्न उहाँहरु चुनावमा जान यति घबराउनु भएको किन ? यति आत्तिनु भएको किन रु चुनाव हुनुहुँदैन भनेर किन भन्नुभयो रु जनतासँग यस्तो त्रास किन रु किनभने दुईमा झर्ने उहाँहरुले देख्नुभएको छ।’ उनले थपे, ‘माथि उहाँहरुको संख्या होला तल ग्राउण्डमा छैन। मसँग सोली घोप्ट्याएजस्तो छ, टुप्पामा थोरै तल विशाल। हेर्नुहोला नेपाली जनताले कसरी फैसला गर्छन्।’

जिल्लाका विभिन्न पार्टी कार्यालय कब्जा हुन थालेको विषयमा सोधिएको प्रश्नमा उनले आफू राजनीतिलाई अस्वस्थ ढंगले लैजानुहुन्न भन्ने पक्षमा रहेको बताए । प्रचण्डले विभाजन भइसकेपछि उनको पार्टी कार्यालयको सम्पत्ति लिएर जाने तर पूर्व एमालेको सम्पत्ति आफैसँग रहने उनले बताए । उनले पूर्वएमालेको पार्टी कार्यालयमा अहिले फुटेर गएका प्रचण्डले त के माधव नेपालले पनि दावी गर्न नमिल्ने बताए। ‘उहाँ ‘प्रचण्ड’ ले आफ्नो पार्टी लिएर जानुभयो त्यसमा अर्को पार्टीका हिजोका केही साथीहरु लाग्नुभयो होला । मैले पनि आफ्न पार्टी लिएर जाने हो। हिजोका प्रचण्डजीका केही साथीहरु पनि मसँग होला। तर विभाजन भएको माधव नेपाल र मेरो होइन। झलनाथ खनाल र मेरो होइन। विभाजन भएको प्रचण्डजीसँग हो’, उनले भने।

‘प्रचण्डजीले उहाँहरुको पार्टी कार्यालयको सम्पत्ति लिएर जानुहुन्छ’, ओलीले भने, ‘पेरिसडाँडाको सम्पत्तिको हकदावी म गर्दिनँ।’ प्रचण्डको कार्यकर्ता भइसकेपछि पूर्व एमालेको सम्पत्तिमा माधव नेपालले दाबी गर्न नमिल्ने उनको तर्क थियो। उहाँ प्रचण्डकीको सेकेण्डमेन भएर हिड्नुभएको छ नि त। प्रचण्डजीको कार्यकर्ताले प्रचण्डजीकै त्यही श्रीसम्पत्तिमा रमाउन सिक्नुपर्छ। त्यही नेतृत्वको मातहतमा रहन सिक्नुपर्यो नि’, ओलीले नेपाललाई भने।

यस्तै प्रधानमन्त्री ओलीले प्रचण्डले आफूलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय चार्ली च्याप्लिनको जोक जस्तो भएको जिकिर गरे। बैंक्वेटमा भेला गरेर आफूलाई निकाल्दैमा जनताको मनबाट निकाल्न नसक्ने ओलीको भनाइ थियो। ‘तपाईंलाई हाँसो लाग्दैन रु प्रचण्डले मलाई यो पार्टीको सदस्यबाट निस्काशन गर्ने रु चार्ली च्याप्लिनको जोक भन्दा माथिल्लो हैसियतको लाग्दैन। प्रचण्डभन्दा कम्तिमा एक दशक अगाडि राजनीतिमा लागेका हुँ। एकदशक अगाडि पार्टी सदस्यता लिएको होला,’ ओलीले भने, ‘जसले पाहुनालाई बास बस्न दियो, उसले घरेवेटीलाई निकाले जस्तो भएन र ?’

यस्तै ओलीले दलहरु भित्रभित्रै चुनावको तयारीमा लागिसकेको पनि बताएका छन्। उनले निर्वाचन कुन क्षेत्रमा कसलाई उठाउने र जनतालाई कसरी पक्षमा पार्ने भन्नेमा दलहरु भित्रभित्रै तयारीमा लागिसकेको उनेको दावी थियो। उनले काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय भएको पनि बताए। ‘काँग्रेसलाई निर्वाचन प्रतिक्षाको विषय हो। नेकपा विभाजित जस्तो अवस्थामा छ। यो अवस्थामा लाभ लिन सकिन्छ भन्ने दृष्टिकोण काँग्रेसमा छ, ’ ओलीले भने। काँग्रेसका नेता रामचन्द्र पौडेल आफै चुनाव हार्ने अवस्थामा रहेकाले मात्रै उनले सरकारको निर्णयको विरोध गरेको उनले दावी गरे। उनले निर्वाचन आयोगसहितका सरोकारवाला निकायले आवश्यक तयारी थालिसकेको भन्दै अदालतमा परेको मुद्दाको टुंगो लागेपछि थप स्पष्ट हुने बताए।

यसैगरी ओलीले प्रचण्ड–माधव नेपाल समूहबाट प्रदेश सरकार ढाल्न चलखेल भए थप कदम चाल्ने पनि स्पष्ट चेतावनी दिएका छन्। यथास्थितिमा प्रदेश र स्थानीय तहमा सबै मिलेर जानु उचित हुनेमा जोड दिँदै उनले भने, ‘नत्र उहाँले कदम चाल्नुभयो भने मैले पनि थप कदम चाल्नुपर्छ।’