‘कांग्रेसको भनाई सडकबाट सर्वोच्चलाई सुनाउने हो’



काठमाडौँ। नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा चर्चित युवा नेता गगन थापाले संसद विघटनविरुद्ध कांग्रेसमा सडकमा उत्रिनुपर्ने बताएका छन्।

बुधबार जारी केन्द्रीय समिति बैठकमा बोल्दै पार्टी पदाधिकारी बैठकले असंवैधानिक र अलोकतान्त्रिक भनी गरेको ठहरबाट दायाँबायाँ नगरी सडक संघर्षमा जानुपर्ने बताए हुन्।उनले भने, ‘संसद चुनाव गर्नका लागि विघटन गरिएको होइन, हामीले सर्वोच्च अदालतले के भन्छ भनेर कुरेर बस्ने होइन, कांग्रेसले के भन्छ भनेर सर्वोच्चलाई सुनाउने हो। सडकमा हामी गएनौं भने अर्को कोही जान्छ। सडक कहिल्यै खाली हुँदैन। असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो खुल्दैन।’

केन्द्रीय समितिको मंगलबारको बैठकमा सभापति शेरबहादुर देउवानिकट केन्द्रीय सदस्य एनपी साउदले कांग्रेसले सडक संघर्षमा नभइ चुनावको तयारीमा जानुपर्ने बताएका थिए। त्यसको काउण्टरमा नेता थापाले भने संसद पुनःस्थापना नभई प्रतिगमन नसच्चिने बताउँदै असंवैधानिक तवरबाट हुने चुनावमा कांग्रेस जान नहुने बताएका थिए।

त्यस्तै संसद विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमकाविरुद्धमा कांग्रेसले आन्दोलन गर्ने कि नगर्ने भन्ने विषयमा केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच चर्काचर्की परेको थियो। केन्द्रीय समिति बैठक लम्बिने देखिएपछि पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नुपर्ने बताएका थिए। तर, देउवाले निर्वाचन आयोगले नेकपाका दुई पक्षको चुनाव चिन्हको निर्णय नगर्दासम्म र अदालतले संसद विघटनका बारेमा अन्तीम फैसला नगर्दासम्म पार्टीले विरोधको कार्यक्रममा जान नहुने बताएपछि चर्काचर्की सुरु भएको थियो।