काठमाडौँ। उखु किसानहरुले बुधबार पनि हलो र उखु लिएर माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।
चिनी मिलबाट उखुको रकम भुक्तानीको माग गर्दै किसानहरु बुधबार पनि सडकमा निस्किएका हुन्। उखु किसानहरु मसिर २८ गतेदेखि विभिन्न जिल्लाबाट काठमाडौंको माइतीघर मण्डलामा आएर संघर्ष गरिरहेका छन्। चिनी मिल सञ्चालकहरुले सबै किसानको भुक्तानी नदिएसम्म आन्दोलनका कार्यक्रम नरोक्ने उखु किसानहरुले बताएका छन्। मिल सञ्चालकहरुबाट किसानहरुले करिब ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ।
सरकारले गत वर्ष नै किसानको उखुको रकम दिलाउने गरी उखु किसान र मिल सञ्चालक बीच सम्झौता गराएको थियो। सरकारको रोहबरमा एक महिना भित्रमा भुक्तानी दिने सम्झौता भएपनि किसानहरुले एक वर्ष सम्म पनि भुक्तानी पाउन सकेनन्। त्यसैले किसानहरु फेरीपनि काठमाडौं आएर संघर्ष गर्न बाध्य भएका हुन्।
यसपटक सरकारले उखु किसानहरुको भुक्तानी नदिने उद्योगीलाई कारबाही गर्ने बताएको छ तर अहिले सम्म कुनै पनि कारबाही गर्न सकेको छैन्। किसानहरुले सरकारसँग पटकपटक कुराकानी भएको तर, उद्योगी र सरकारबीचको मिलेमतोका कारण भुक्तानी पाउन नसकेको बताएका छन्। किसानहरुले आफुहरुले पाउनुपर्ने रकमको भुक्तानी दिलाउने जिम्मेवारी सरकारले नलिँदासम्म संघर्षलाई जारी राख्ने बताएका छन्।