कर्णाली प्रदेश सरकार पुनर्गठनमा कांग्रेस निर्णायक



सुर्खेत। नेकपा विभाजनसँगै प्रदेश सरकारहरुमा भूकम्प जाने देखिएको छ।

यसै क्रममा कर्णाली प्रदेश सरकार धरमराउने देखिएको छ। कर्णाली प्रदेश सभाका पूर्वमाओवादी खेमाका दुईजना सांसद  धर्मराज रेग्मी र ठम्बर विष्ट ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएपछि प्रदेश सरकार अस्थिर बन्ने देखिएको छ। ४० सदस्यीय प्रदेश सभामा नेकपाका ३३ जना, नेपाली कांग्रेसका ६ र राप्रपाका एकजना सांसद छन्।

गत असोज २५ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्तावमा हस्तार गर्ने १८ जना सांसदमध्ये रेग्मी र विष्टको पनि नाम थियो। तर, सांसद विष्टले अन्तिम समयमा अविश्वासको प्रस्तावबाट आफ्नो नाम फिर्ता लिएका थिए।

नेकपाका ३३ मध्ये अब ओली समूहमा सभामुखसहित १४ जना, प्रचण्ड-नेपालका १९ जना सांसदहरु रहेका छन्। प्रदेश सरकार गठन गर्नका लागि २१ जना सांसदको आवश्यकता पर्छ। यसका लागि दुवै पक्षले कांग्रेस र राप्रपासाग सहकार्य गर्नु पर्ने हुन्छ।